Logo

स्थानीय तह निर्वाचन: उम्मेदवारी फिर्ताको लागि आज अन्तिम दिन



काठमाडौँ, १६ वैशाख । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ ।

पार्टीले उठाएका नाममा चित्त नबुझेपछि बागी उम्मेदवारी दिनेहरु धेरै छन् । बागी उम्मेदवारलाई फकाउन नेतृत्वले कसरत गरिरहे पनि केही ठाउँमा मात्रै उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्