Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीको बिदाइ



काठमाडौँ, १८ वैशाख । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ ।

सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस सङ्गठनको सफल नेतृत्व गर्नुभएकामा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए ।

साधनस्रोत सीमित हुँदाहुँदै पनि सीमा सुरक्षा, अवाञ्छनीय गतिविधि नियन्त्रण अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापनलगायत नागरिकको जीवनरक्षामा खटिएको उल्लेख गर्दै गृहमन्त्री खाणले यसपाली नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरेर २० हजारभन्दा बढी प्रहरी कर्मचारीका लागि अवसर प्रदान गरिएको बताए । त्यसका लागि महानिरीक्षक थापाको योगदान विशेष रहेको उनले सुनाए ।

मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिनसक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उनले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताए ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले दुवै महानिरीक्षकबाट नेपाल सरकारलाई भविष्यमा विज्ञ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै भावी सुखमय जीवनको शुभकामना दिए । कार्यक्रममा महानिरीक्षकद्वयले आफ्नो कार्यकालमा भए गरेका क्रियाकलाप र कार्यकालको अनुभूतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्