Logo

मतगणना छिटो सम्पन्न गर्न आयोगको निर्देशन



काठमाडौँ, ४ जेष्ठ । निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ ।

आयोगले बुधवार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको भन्दै छिटो गणनामा सहयोग गर्न सबैसँग आग्रह गरेको हो ।

विद्यमान कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र त्यसपछि स्थानीय सरकार जनप्रतिनिधिविहीन हुने अवस्थालाई मध्यनजर गरेर ५ गतेभित्र नै मतगणना सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न आयोगले निर्देशन दिएको छ ।

धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकामा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी गणना सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोगले स्मरण गराएको छ । यस्तै विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना सम्पन्न गर्न/गराउन पनि आयोगले निर्देशन दिएको छ ।

मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुन: गणना गराउन माग गर्ने जस्ता समस्याहरू खडा गर्ने जस्ता कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्