Logo

भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ लोकार्पण



मेचीनगर, ८ जेष्ठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् पूर्व शिक्षक भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ ।

उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक कालखण्डमा भोगेका अनुभूति किताबमा जस्ताको तस्तै अभिब्यक्त गरेका छन् ।

वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलले आयोजित एक कार्यक्रमबीच कृतिको लोकार्पण गरेका थिए ।

सो कार्यक्रममा समालोचक तारा विविध र दामोदर ढुंगेलले कृतिको समीक्षा प्रस्तुत गरेका थिए भने प्राज्ञ सुभद्रा अर्याल, साहित्यकार पुण्यप्रसाद खरेल, अग्रज पत्रकार चन्द्र भण्डारी र लेखक निरज कट्टेल शुभकामना मन्तब्य राखेका थिए ।

समीक्षक तारा विविधका अनुसार कृतिले लेखकको बाल्यकाल, ज्यामिरगढीको बसाइ, धरानको आइएस्सी अध्ययन, लालझोडा स्कुलको अध्यापन लगायत विभिन्न समयखण्डका सत्यतथ्य भोगाइ बाहिर ल्याएको छ ।

त्यसैगरी अर्का समीक्षक दामोदर ढुंगेलका अनुसार स्रष्टा आफैमा राजनीतिक आन्दोलनमा सक्रिय संगठक भएको र उनी झापा विद्रोहकालको जानकार रहेको उल्लेख गर्दै कृतिमा झापा विद्रोहको अपेक्षा गरिएभन्दा कम विवरण बाहिर ल्याइएको गुनसो गरेका छन् ।

उक्त किताबमा पृष्ठभूमि, बाल्यकाल, शैक्षिक, अध्यापकीय, राजनीतिक र सामाजिक गरी ६ वटा खण्ड छन् । त्यसभित्र इतिहासका भिन्न घटनाहरु लेखिएका छन् । रंगीन कभर र स्तरीय कागजमा छापिएको यो कृतिको मूल्य पाँच सय रुपैयाँ उल्लेख छ ।

शिक्षिका शीला खवासले सञ्चालन गरेको कार्यक्रममा स्रष्टा भीम खवासले कृति लेखनका विषयमा आफ्ना अनुभूति सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्