Logo

पर्यटकको रोजाइमा महाकाली पुल



कञ्चनपुर, २२ मङ्सिर । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका-१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिए । “पक्की पुलले यहाँ पर्यटकको आवागमनलाई बढाएको छ । पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्छ”, उनले भने, “पुल हेर्न भारतबाट पनि पर्यटक आउने गर्छन् ।”

उनका अनुसार तुलनात्मकरूपमा सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ ।

“यहाँ पुग्दा सामुद्रिक तटमा पुगेजस्तो महसुस भयो । सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिन्छ”, पक्की पुल अवलोकन गर्न पुगेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का लक्ष्मीकान्त भट्टले भने, “पर्यटनको प्रचुर सम्भावना बोकेको यसको व्यापक प्रचारप्रसार हुनु जरुरी छ ।”

कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन् । पक्की पुल अवलोकनका लागि पुग्ने पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् । पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवातजावत बढेसँगै यहाँको व्यापार-व्यवसाय पनि फस्टाउँदै गएको छ ।

“यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे”, दोधारा चाँदनी-१ का होटल व्यवसायी नबहादुर बमले भने, “पक्की पुलले मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।” वि.सं २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।

गड्डाचौकीबाट दोधारा चाँदनीको मलेरिया नालासम्म आठ किलोमिटर पहुँचमार्ग र पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम अन्तिम चरणमा पुगेको छ । महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्