Logo

समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ: राष्ट्रपति



काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गरेका छन् ।

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘‘यो संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । यो वेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’’

उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारेका थिए । उनले भने, ‘‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी सङ्घीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ ।’’

उनले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनिधित्व गर्ने भएकाले विषेश महत्त्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्