Logo

लिम्बू जातिले मनाए नयाँ वर्ष



तेह्रथुम, १ माघ । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ ।

येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए । लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ-१ का बलदेव तुम्बाहाङ्फेले बताएका हुन् ।

साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई चार ऋतुमा विभाजन गरेका थिए । पात्रोको निर्माण हुनुअघिको समयलाई मौसम परिवर्तनअनुसारको ऋतुमा विभाजन गरिएको हो । अन्नपात सकिएर तरुल, भ्याकुर, कन्दमूलसमेत खाएर जीवनयापन गर्नुपर्छ भनेर पुस, माघ र फागुनको समयमा कक्फेक्वा ऋतु बनेको हो । त्यसपछिको ऋतु यक्वा अर्थात् खडेरी पर्ने भएकाले पानी माग्ने गरिन्छ । बीउबिजन लगाएर फल्न फुल्न थालेपछिको ऋतु सिसेक्वा र बालीनाली पाकेपछि थन्क्याउने समय चासोक हो ।

कक्फेक्वा तङ्नामकै समयमा लिम्बू जातिले कुसङ् तङ्बे अर्थात् नयाँ वर्ष भनेर पनि मनाउँछन् । किरात राजा यलम्बरको शासनकालदेखि यता गनेर मानिने संवत्लाई लिम्बू जातिले येले तङ्बे भन्दछन् । याक्खा जातिले यले दोङ, वान्तबा राईहरुले येले दोङ, सुनुवारले येले थोचे भन्दछन् । जुन अहिले ५०८४ पुगेको छ ।

हिजै घर तरुल खनेर, वनतरुल खोजेर तयार पारेको आज बिहान काँचो तरुलको टीका लगाएर उसिनेको वनतरुल, घरतरुल, सेलरोटी खाँदै गाउँघरमा कक्फेक्वा तङ्नाम अर्थात् माघेसङ्क्रान्ति मनाउने तयारी गरिरहेको म्याङलुङ-९ का लक्ष्मी लिम्बूले बताए ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मा मगर समुदायको सांस्कृतिक पर्व ‘माघ्या सकराँटी’ पर्व जिल्लाभरका मगर समुदाय भेला भएर मनाइरहेको नेपाल मगर सङ्घ माघ्या सकराँटी पर्व सारल्हेस व्यवस्थापन उपभोक्ता समिति तेह्रथुमका अध्यक्ष मीनबहादुर मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्