Logo

भव्य बन्यो केशरमहल



काठमाडौँ, २ माघ । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ । निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ । अब ढल व्यवस्थान, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ । गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्नेमा त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा निर्माण कार्य ढिला हुन पुगेको हो ।

निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले भने, “केशरमहलभित्रका काम प्रायः सकिइसकेको छ, बाहिरी सौन्दर्यको काम मात्र बाँकी छ ।” पुनर्निर्माण कार्यको आर्थिक प्रगति ९२ प्रतिशत छ । भ्याटबाहेक ५९ करोड रुपियाँमा पुनर्निर्माण गरिँदै छ ।

हाल केशर पुस्तकालय केशरमहल परिसरमा निर्माण गरिएको अस्थायी टहरोमा छ । आगामी फागुनदेखि पाठक तथा अनुसन्धानकर्ताले भव्य भवनभित्रै पुस्तक अध्ययन गर्न पाउने छन् । पुनर्निर्माण सम्पन्न भएपछि यो सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुने छ ।

केशरमहलका भित्तामा रहेका पुरातात्त्विक महत्त्वका पेन्टिङलाई दुरुस्त गर्ने कार्य बाँकी छ । पुनर्निर्माण सम्पन्न हुँदा दलिन छोप्न राखिएका आकर्षक फलामे बुट्टेदार पाता (फल्स सिलिङ) को काम भने बाँकी रहने छ । बेलायतबाट ल्याइएका ती पाता खियाका कारण ९० प्रतिशत नै काम नलाग्ने अवस्थामा छन् । हरेक कोठामा फरक फरक बुट्टाका छन् भने पुरातात्त्विक भवनका कारण तिनको सट्टा फल्स सिलिङको प्रयोग गर्न नमिल्ने भएकाले भारतबाट प्रविधि झिकाएर पछि तयार पारिने आयोजना व्यवस्थापक (इन्जिनियर) सापकोटाले बताए ।

केशरमहलमा ६१ वटा कोठा छन् । दुई स्थानमा आपत्कालीन फलामे भ(याङ निर्माण गरिएको छ । भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । उनका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ । नियमित मर्मतसम्भार गरेमा यसले एक सय वर्ष धान्न सक्ने छ । उनले पुनर्निर्माणका क्रममा सो भवन विगतमा नियमित मर्मतसम्भार नभएको देखिएको बताए । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्