Logo

निगमको वाइडबडीमा समस्या: काठमाडौँमा २ सय ७६ र दोहामा २ सय ५६ यात्रु अलपत्र



काठमाडौँ, २  माघ । नेपाल वायुसेवा निगमको वाइडबडीमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि काठमाडौँबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा र दोहाबाट काठमाडौँ आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका छन् ।

निगमको विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए-२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा ‘फल्ट’ देखिएकाले जहाज ग्राउन्डेड गरिएको घोषणा गर्दै दोहा उडान रद्ध गर्नुपर्ने जनाएको थियो । काठमाडौँमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको उक्त उडानसँग सम्बन्धित एक कर्मचारीले बताए ।

निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन् । यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ । अर्को वाइडबडी दुबईबाट फर्किँदै छ । त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौँबाट दिल्ली जानु पर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ । त्यहाँबाट फर्केर जापान बेलैमा उड्ने तालिका प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्