Logo

विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ: मन्त्री साउद



काठमाडौँ, ३ माघ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिएका छन् ।

युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “हामी कोभिड-१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जालगायतमा भएको मूल्यवृद्धि, ऋणको बोझलगायतका सङ्कट र चुनौतीको सामना गरिरहेका छौँ । यसका लागि विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक छ ।”

मन्त्री साउदले विश्वव्यापी समृद्धि समानरुपमा बाँडफाँट गर्न र समावेशी विश्वव्यापी व्यवस्थाका लागि नामले सामूहिक आवाजलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।

नाम आन्दोलन ध्रुवताको पूर्वाग्रहबाट मुक्तिका लागि एक शक्तिशाली राजनीतिक आवाज बनेको उल्लेख गर्दै उनले नाम एक सय २० देशको प्रतिनिधित्व भएको सबल संगठनका रुपमा रहेको र यसमा विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गरेका थिए । नाम द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता, भोक, रोगलगायत चुनौती र समस्याको विश्वव्यापी समाधान खोज्ने सबल संगठन भएको उनको भनाइ थियो ।

मन्त्री साउदले संयुक्त राष्ट्र सङ्घ बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै नामले समस्या र चुनौतीको शान्तिपूर्ण समाधानमा निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नामले दिगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय रुपमा निर्धारण गरिएका विकास लक्ष्यका उपलब्धिका साथै जलवायु न्याय र जोखिममा रहेका मुलुकको हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्