Logo

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ: मन्त्री बस्नेत



काठमाडौँ, ४ माघ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताएका छन् ।

बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गरेका थिए ।

‘‘अब यो १० वर्ष, पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ । यो उपलब्धिहरुले हाम्रा सामु नयाँ सम्भवानाहरु, हाम्रा निम्ति आउने अवसरहरु पनि सिर्जना गरेको छ । तर एउटा अर्को सत्य के पनि रहेछ भने हरेक उपलब्धिहरु, हरेक सम्भावनाहरुसँगै नयाँ चुनौतिहरु पनि सिर्जना भएका छन् । ति आउँदै जान्छन् ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामीले चुनौतिको उचित व्यवस्थापन गर्ने र सम्भवानालाई अझ व्यवहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने त्यो नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढीरहेको छ ।’’

मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने बताए । मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढीरहेको जानकारी दिए । उनले पछिल्लो डेढ वर्षको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताएका छन् ।

‘‘हामीसँग सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१/२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र चार-पाँच सय मेगावाट हामी उत्पादन गर्नेछौँ । यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ म्हिनाको बिचमा, डेढ वर्षको अवधिमा हजारभन्दा बढी विद्युत उत्पादन गर्नसक्ने अवसस्थासम्म आइपुगेका रहेछौँ । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौँ भन्नेकुरा होइन ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामी उत्पादन गर्नसक्छौँ । ११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसावले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजारभन्दा बढी विद्युत उत्पादन गर्नसक्छौँ ।’’

प्रतिक्रिया दिनुहोस्