Logo

आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछ: प्रधानमन्त्री



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धमा भएको बैठकमा प्रधानमन्त्रीले अधुरा आयोजना पूरा गर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले पूराना योजना अलपत्र पर्ने तर नयाँ-नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले भने, “विकास योजनावद्ध हुन्छ र हुनुपर्छ । बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।”

अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको भए पनि दबाबमुक्त भइनसकेको उनको भनाइ थियो । विकास निर्माणका काममा थुप्रै बेथिति रहेको भन्दै प्रधानमन्त्रीले भने, “यसपटक परम्परागत सोंच र ढाँचाबाटमाथि उठौँ । सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ । यसपटक ‘ब्रेक-थ्रु’ गर्नैपर्छ ।”

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि राजस्व सङ्कलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्