Logo

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छ: सभामुख घिमिरे



मनहरी, १३ माघ । सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका हुन् ।

उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए । कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड सङ्कलन भएको उनले बताएका छन् ।

सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो । कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए । सङ्घीयतालाई सही ढङ्गबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र सङ्घीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरेका हुन् ।

उनले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढङ्गबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गरेका थिए ।

सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्नेमा जोड दिए । राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उनले भीमफेदी गाउँपालिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्