Logo

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा



गण्डकी, १५ माघ । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आइतवार भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र जिलेस्पीजङ्ग कार्कीले एक गोल गरे ।

दिनेशले खेलको दोस्रो मध्यान्तरको ४८औँ मिनेटमा र ७६औँ मिनेटमा गोल गरे भने जिलेस्पीजङ्गले पहिलो मध्यान्तरको ४५आँै मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आर्मी अब मङ्गलबार हुने चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले प्रतियोगिताको अन्तिमा चार स्थान पक्का गरेको थियो । तेस्रो क्वाटरफाइनल खेल सोमबार मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगितामा भूटानको पारो फुटबल क्लबसहित साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रिस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने छन् । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०÷२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०÷३० हजार तथा सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०÷५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्