Logo

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ: राष्ट्रपति पौडेल



काठमाडौँ, २२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् ।

नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरेका हुन् ।

“सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्”, उनले भने, “कलाकार सृर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सृजनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।”

उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताए ।

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको स्मरण गरे । नेपाली गीत-सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने स्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्