Logo

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड जानुहुँदै



काठमाडौँ, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ मङ्गलबार आज त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले जेनेभामा हुन लागेको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत आयोजना हुने ‘ग्लोबल कोलिसन फर सोसल जस्टिस फोरम’ को उद्घाटन समारोहमा भाग लिनुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले बिहीबार सो कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।

बुधबार भने उहाँले स्विट्जरल्यान्डका राष्ट्रपति भियोला अमहर्दसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । जेनेभाको भ्रमणलगत्तै शनिबार राष्ट्रपति पौडेल जर्मनीको भ्रमणमा जानुहुने छ । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेमियरको औपचारिक निमन्त्रणामा जर्मन भ्रमणमा जान लाग्नुभएको हो । सो भ्रमणका क्रममा दुई राष्ट्रपतिबिच अर्को सोमबार औपचारिक वार्ता हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका साथमा उहाँकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपति पौडेलका परराष्ट्र मामिलाविज्ञ सल्लाहकार डा। सुरेशचन्द्र चालिसे तथा राष्ट्रपति कार्यालयका सचिव तथा परराष्ट्र सचिवलगायतका उच्चाधिकारी जानुहुने छ । राष्ट्रपति पौडेल अर्को बुधबार स्वेदश फर्कनुहुने छ ।

 

प्रतिक्रिया दिनुहोस्