Logo

साउदी अरबमा गर्मीका कारण एक हजारभन्दा धेरै हजयात्रीको ज्यान गयो



काठमाडौँ, ७ असार । साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा झण्डै १० देशका एक हजार ८१ जनाको ज्यान गएको अरबका एक कूटनीतिज्ञले बताएका छन् ।

इजिप्ट, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकका नागरिकको हज यात्रामा ज्यान गएको बताइएको छ । अझै अरु थुप्रै तीर्थयात्रीहरू बेपत्ता भएका छन् । इस्लामिक क्यालेन्डरले निर्धारण गरेको समयमा गरिने हज यात्रा यस वर्ष साउदीको चर्को गर्मीको समयमा परेको हो ।

त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गएको महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्