Logo

जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन



म्याग्दी, १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर समयमै निर्माण भएको उक्त भवन हालसम्म प्रयोगमा नआउँदा अलपत्र बनेको हो ।

निर्धारित समयमा भवन सम्पन्न भए पनि अहिले बजेट, जनशक्ति र आवश्यक उपकरण अभाव हुँदा प्रयोगमा आउन नसकेको अन्नपूर्ण–१ दोवाका वडासदस्य गोविन चोचाङ्गीले बताउनुभयो । “तीन वर्षअगाडि सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ”, उहाँले भन्नुभयो, “जिल्लाका अन्य पालिकामा योजना अलपत्र परेको अवस्थामा दोवामा भवन निर्माण भए पनि उपकरण, चिकित्सकसहित जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा यस्तो अवस्था आएको हो ।

वडासदस्य चोचाङ्गीका अनुसार अस्पतालको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । करिब १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अपाङ्गमैत्री संरचनामा निर्मित भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेका उहाँले जानकारी दिनुभयो ।

भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छभने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीको आवासका रुपमा प्रयोग गरिने जनाइएको छ । भवन निर्माणका लागि विसं २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाख ६० हजार छ सय ५२ मा ठेक्का सम्झौता गरेको थियो ।

अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको स्थानीयले बताएका छन् ।

पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि दोवावासीलाई उपचारमा सहज हुनेछ । पालिकाभित्रका अन्य वडाका बासिन्दाको सहजतका लागि बेनी–पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामीण सडकमा ढलान, कालोपत्रसहितको स्तरोउन्नति आवश्यक देखिएको स्थानीय बताउँछन ।

जिल्लाको मङ्गला, धवलागिरिमा पालिकास्तरीय अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् भने रघुगङ्गा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन नसकेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्