Logo

झापामा रगतको अभाव



झापा, १३ असार । झापामा रगतको अभाव देखिएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो ।

जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका बिरामीलाई डाइलोसिस गर्दा रगत आवश्यक पर्ने भएकाले खपत बढेको तर सङ्कलन कम भएकोले रगतको अभाव भएको दाहालको भनाइ छ ।

रेडक्रस झापासँग हाल स्टकमा करिब एक सय युनिट रगत मात्र रहेको इन्चार्ज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल झापामा दैनिक सरदर ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । रेडक्रससँग रहेको रगतले अधिकतम तीन दिन मात्र धान्ने उहाँले बताउनुभयो ।

रेडक्रस झापाका सभापति लोकराज ढकालले जिल्लामा रगतको अभाव भएपछि रक्तदान कार्यक्रम आयोजना गर्न सामाजिक संघ–संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।

झापामा प्रत्येक वर्ष २० हजार युनिट रगत खपत हुने गरेको छ । त्यसमा १५ हजार युनिट रगत रेडक्रस झापा शाखाले उपलब्ध गराउँदै आएको छ भने पाँच हजार युनिट रगत रेडक्रस दमक उपशाखाले उपलब्ध गराउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्