Logo

शनिश्चरे नगर अस्पतालमा शल्यक्रिया सेवा शुरु



झापा, २० असार । झापाको अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालमा आज शल्यक्रिया सेवाको उद्घाटन भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

‘शल्यक्रियासहितको आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ । सभामुख घिमिरेले भन्नुभयो, “सबै पक्षको सहयोग रह्यो भने अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्छ ।” बालबालिकाहरुलाई गर्भदेखि नै बाँच्न पाउने अधिकारका लागि पनि आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएको उहाँले बताउनुभयो । उहाँले आफ्नोतर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख बलदेव गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो । उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।

न्यून आर्थिक अवस्थाका नगरबासीलाई उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको साटो अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको गोम्देनको भनाइ छ । उहाँले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्