कञ्चनपुर, १३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै उहाले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गर्नुभएको हो।
उहाले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ उहाले भन्नुभयो, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’
उहाले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गर्नुभयो । ‘यो सबैका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्कोपटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको बताउँदै मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याएको पनि स्मरण गर्नुभयो ।