Logo

बिर्तामोडको स्वास्थ्य केन्द्र अस्पताल बन्दै



बिर्तामोड, ७ चैत । बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारको प्राथमिक स्वास्थ्य केन्द्र २५ शैयाको अस्पतालमा रुपान्तरण हुने भएको छ ।

एक स्थानीय तह, एक सरकारी अस्पतालको अवधारणा अनुरुप बिर्ताबजारको प्राथमिक स्वास्थ्य केन्द्र जिल्लास्तरीय अस्पतालमा रुपान्तरण गर्ने तयारी भएको हो ।

स्वास्थ्य केन्द्रमा उपचार गराउँदै आएका सर्वसाधरण र स्थानीयवासीले अब विशेषज्ञको सुविदासहित स्वास्थ्य सुविदा पाउने भएका छन् ।

संघीय सरकारको नयाँ स्वास्थ्य नीति अनुसार स्वास्थ्य केन्द्रले अस्पतालको मान्यता पाएको हो । संघीय सरकारसमेतको १० करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिकाले जनाएको छ ।

अस्पतालमा बिर्तामोडको रोटरी क्लबले ४ वटा डाइलोसिस मेशिन उपलब्ध गराउने भएको छ । त्यसमा ८० प्रतिशत रोटरी क्लबको र २० प्रतिशत नगरपालिकाले लगानी गर्ने भएको छ ।

अस्पतालका लागि आवश्यक पर्ने सबै उपकरण संघीय सरकारले उपलब्ध गराउने बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताए । ‘सामान्य उपचारका लागि बिर्तामोड लगायतका निजी अस्पताल गएर उपचार गर्न नसकिरहेका बेला अस्पताल बनेपछि स्थानीयलाई धेरै सहज हुन्छ’ उनले भने, ‘उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन विशेषज्ञ चिकित्सकसहितको अस्पताल संचालन गर्न लागेका छौँ ।’

अस्पताल सञ्चालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारको निर्माणसँगै आवश्यक जनशक्ती, उपकरण र व्यवस्थापनको कार्य भइरहेको नगरप्रमुख शिवाकोटीले बताए ।

सामान्य उपचारका लागि बिर्तामोडका निजी अस्पताल र भारतको सिलिगुडी जानु पर्ने अवस्थामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउँनै लाग्दा स्थानीय खुसी भएका छन् ।

अस्पताल निर्माण भएसँगै अस्पतालको सेवासुविधामा सुधार हुने भएपछि बिर्तामोड नगरपालिका र छिमेकी गाउँपालिकाका धेरै स्थानीयबासी लावन्भित हुने अपेक्षा नगरले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्