Logo

कोरोना संक्रमण विरुद्ध काँकरभिट्टा नाकामा यस्तो छ तयारी



झापा, ७ चैत । कोरोना संक्रमण हुन नदिन नेपालको पूर्वीद्वार काँकरभिट््टामा सक्रियता बढाइएको छ । मेचीनगर नगरपालिका र प्रदेस सरकारले काँकरभिट्टा नाकाबाट कोरोना संक्रमितको प्रदेश रोक्न सक्रियता देखाएका छन् ।

काँकरभिट्टा दैनिक हजारौँ मानिस आवतजावत हुने नाका हो । पर्यटक, किनमेल गर्न जानेदेखि श्रम गर्न आउनेसम्म लगभग दैनिक ३० हजार मानिस काँकरभिट्टा नाकाबाट आवागमन हुने नगरप्रमुख बिमल आचार्यले जानकारी दिए । नगरपालिकाले बिहिवार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी कोरोना संक्रमण हुने नदिन र संक्रमण देखिए उपचारको भएको तयारीका सम्बन्धमा जानकारी दिएको छ ।

नगर प्रमुख आचार्यले वडा नम्बर ७ मा रहेको माइती नेपालको भवन र वाडा नम्बर ११ स्वास्थ्य चौकीमा क्वारेन्टाइन स्थापना गर्ने जानकारी दिए । उनले वडा नम्बर १० धुलाबारीको वर्थिङ सेन्टरलाई आइसोलेसन बनाउने तयारी भएको बताए । नगरप्रमुख आचार्यले नगरवासीलाई हल्लाको पछि नलाग्न र आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

नगरपालिकाले माघ १४ गतेबाट नाकामा कोरोना भाइरस परामर्श सहायता कक्ष गरेको थियो । स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको ज्वरो मापम गर्दै आएका छन् । तर, एक साता यता इटलीसहित युरोप, अमेरिका र भारतमा कोरोना संक्रमण फैलिएपछि काँकरभिट्टा नाकामा चेकजाँचलाई कडा बनाइएको छ ।

प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले मेचीनगरले कोरोना संक्रमण विरुद्ध गरेका कार्य तथा तयारीको बिहिवार अनलोकन गरेका छन् । उनले अवलोकनपछि काँकरभिट्टा नाका संवेदनशील भएकाले प्रदेस सरकारले जनशक्ति र स्वास्थ्य उपकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाको कार्यमा स्थानीय एक दर्जन भन्दा बढी संघसंस्थाले सहयोग गरिरहेका छन् । नाकामा चेकजाँचका लागि स्वास्थ्यकर्मी, स्वयम् सेवक, प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।

फागुन ११ गतेदेखि चैत ६ गतेसम्मको तथ्याङ्क अनुसार ६० हजार भन्दा बढीको ज्वरो मापन गरिएकोमा १८ जनालाई सामान्य भन्दा बढी तापक्रम देखिएपछि भारततर्फ फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । उनले एकजना नेपालीलाई भारतबाट फिर्ता ल्याइएको पनि जानकारी दिए ।

नेपालबाट भारत जाने सबैको व्यक्तिगत राखिने गरेको छ भने भारतबाट आउने सबैको अनिवार्य ज्वरो मापन गरिने गरिएको छ । भारततर्फ पानीट्याङ्कीमा पनि ज्वरो मापन कार्य हुँदै आएको छ । आजबाट काँकरभिट्टामा भारत जानेको फारममा बिवरण भर्न लगाउने तयारी भएको छ ।

मन्त्री कार्कीको अनुगमन
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् ।

उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन दिए ।

मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गरेका थिए । दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र इलाका प्रहरी काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले नाकामा कोरोना रोकथामका लागि भइरहेको जाँचमा सुरक्षित एप्रोन, माक्स र जनशक्तिको अभाव भएको जानकारी मन्त्री कार्कीलाई गराए ।

मन्त्री कार्कीले सुरक्षित एप्रोन, माक्स, जनशक्तिलगायतका सबै विषयमा पर्याप्त सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए । प्रशासन र सुरक्षा निकायका प्रमुखको टोलीले मेचीनगर–७ सतिघट्टास्थित क्वारेन्टाइनको निरीक्षण गरेको थियो ।

क्वारेन्टाइनका लागि सम्पूर्ण बन्दोबस्ती र जनशक्ति सहयोग गरिदिन मन्त्री कार्कीमार्फत प्रदेश सरकारलाई आग्रह गरिएको मेचीनगरकी उपप्रमुख उप्रेतीले बताइन् । जाँचमा खटिने सरकारी कर्मचारी कार्यालय समय अवधिभर मात्र खट्ने हुँदा समस्या रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्