Logo

लकडाउनको साइड इफेक्टः झापाका मृगौला रोगी मृत्युको मुखमा !



झापा, १४ चैत । सरकारल कोरोना संक्रमण नियन्त्रण गर्न घोषणा गरेको लकडाउनमा यातायात सञ्चालन हुन नसक्दा झापाका मृगौला रोगी मृत्युको मुखमा पुगेका छन् । डायलसिस लागि आवश्यक पर्ने फ्ल्यूड (मृगौला सफा गर्ने तरल पदार्थ) आयात बन्द हुँदा झापाका चार वटा अस्पतालले डायलसिस सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् । झापाका १ सय ५० जना भन्दा बढी मृगौला रोगी डायलसिस गर्नबाट वन्चित हुने भएका हुन् ।

बिर्तामोडको बिर्ता सिटी अस्पतालमा शनिवारबाट डायलसिस सेवा बन्द हुने भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर अनिल बस्नेतले हवाई र सडक यातायात बन्द हुँदा फ्ल्यूड आयात गर्न नसकेर बन्द गर्नु परेको बताए । डा बस्नेतले भने, फ्ल्यूड आए पुनः सञ्चालन हुन्छ ।

ओमसाई पाथीभरा अस्पतालका संचालक साईराम पोखरेलले पनि फ्ल्यूडको अभावमा समस्या भएको बताए । उनले फ्ल्यूड सकिएपछि ठूलो समस्या हुने बताए । पोखरेलले भने, एक दुई दिन भन्दा फ्ल्यूडले थेग्ने अवस्था छैन ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर पिताम्बर ठाकुरले फ्ल्यूड नआए तीनदेख चारदिन पछि डायलसिस गर्न नसकिने जानकारी दिए । डा ठाकुरले कोरोनाको संक्रमणले होइन, मृगौला रोगी डायलसिस गर्न नपाएर मृत्यु हुन सक्ने बताए । उनले तत्काल वैकल्पिक व्यस्था नगर्ने हो भने ठुलो समस्या आउने बताए ।

बिर्तामोडको बि एण्ड सी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अस्पताल भर्ना भएका बिरामीको मात्र डायलसिस गर्ने गरिएको बताए । फ्ल्यूडको अभावले बाहिरको बिरामीको डायलसिस गर्ने अवस्था नभएको बताए ।

बिर्तासिटी अस्पतालमा ३२ जना मध्ये दैनिक १५ देखि १६ जनाले डायलसिस गर्ने गरेका छन् । मेची अञ्चल अस्पतालमा ३० जना मध्ये दैनिक १० जना सम्मले डायलसिस गर्ने गरेका छन् । ओमसाई पाथीभरामा ८४ जनामा दैनिक २० जनाले डायलसिस गर्ने गरेका छन् । तर, फ्ल्यूडको अभावमा झापाका अस्पतालको डायलसिस सेवा प्रभावित भएको छ ।

मृगौला रोगले थलिएका झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठले कोरोना संक्रमणले होइन, डायलसिस गर्न नपाएर मर्ने भइयो भन्दै चिन्ता प्रकट गरे । उनले सरकारले तत्काल फ्ल्यूड उपलब्ध नगाराउने हो भने झापामा मृर्गाला रोगीको मृत्यु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्