Logo

वीपी कोइरालाका विचारको गलत उद्धरण



विश्वेस्वरप्रसाद कोईरालाका केही विचारलाई आज गलत उद्धरणको रूपमा उल्लेख गर्ने गरिन्छ । राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा फरक किसीमबाट उल्लेख गर्ने गरिएको देखिन्छ।

हिजोका दुर्दान्त मण्डलेहरू र सदैव प्रजातन्त्र हत्याका समर्थक कम्युनिष्टहरूले पनि यता बात बातमा काँग्रेसीलाई उपदेश दिने गरेका छन् । यस्ता उपदेश प्रायसः तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको विरोध तथा मेलमिलापका सन्दर्भमा फलाकि रहेका हुन्छन् । उदाहरणका लागि तिनीहरूले वीपीका समयमा चुनावी घोषणापत्रका युक्तिहीन अंशहरू, राजाको घाँटी र मेरो घाँटी सँगै जोडिएको छ भन्ने प्रसंग अनि मेल मिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन् ।

वास्तबमा वीपीका विचार सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै घोषणापत्रमा समाविष्ट छैन । न त २००७ सालको क्रान्ति कालमा, न त ०१५ को आम निर्वाचनमा । पार्टीको विधानलाई पनि यसै रूपमा बुझ्नु पर्दछ । पार्टीका यी दस्तावेजहरू जहिले पनि बिभिन्न नेता वा सोचका समिश्रित रूपमा पारित गरिएका हुन्छन् । जबकि, वीपी गहन सवालमा दार्शनिक दृष्टिकोण राख्नु हुन्थ्यो ।

व्यक्तिगत सोचमा वीपी सदैव, शायद जीवन पर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता विषयको पक्षपाती रहनु भएन । राजतन्त्र, धर्म बारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा स्पष्ट हुनजान्छ ।

धेरैले बीपीको ‘राजतन्त्र’ शिर्षकको लेख नै नपढेको हुन सक्छ । जहाँ वीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ । सन् १९६८ मा वीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गांधीज्म’ विषयमा बोलेकोबाट नृशंस राजतन्त्रका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।

शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउदै वीपीले भनेको कि “म निजी रूपमा धर्म मान्दिन । तर, पूर्व-पश्चिम पुरै नेपालबाट कयौं दिन पैदल हिडेर यहाँ मूर्तीको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन ।” शायद धेरैले छापिएको यस तथ्यको पनि स्मरण गर्दैनन् आज भोली । नेपालको सन्दर्भमा धर्म निरपेक्षता ठिक नहुन सक्छ । तर, धर्म निरपेक्षता वीपीको निजी सोच थियो ।

राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर वीपीको स्वदेश आगमनलाई धेरैले तत्कालिन भारतमा इंदिरा गान्धीको नेपाल खाने योजनालाई वीपीले लत्याएको भनि अर्थ्याएको देखिन्छ । मर्नु परेपनि नेपालमै मर्ने तर इंदिरा गान्धीको योजनामा सरीक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसँग जोड्न खोजेको देखिन्छ।

मेलमिलापको नीति वा कार्यनीति बस्तुतः वीपीको यौटा ‘लाउड थिंकिंग’ थियो । जस्लाई सन् ७० को दशकको अन्त्य तिरको शीतकालिन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ । यसको सारको रूपमा, अमेरिका सबैतिर प्रजातान्त्रिक आन्दोलनको रक्षा गर्न नसकेको, कम्युनिष्टको मुकाबिला गर्न तानाशाहलाई संरक्षण गरिरहेको एक विशेष स्थिति रहेको बुझ्नु पर्दछ ।

अर्को तिर सोभियत संघ, खासगरी प्रजातान्त्रिक मुलुकमा कम्युनिष्टको सहयोगमा सत्ता हत्याउन चाहेको, र मध्य तथा दक्षिण एशियाली मुलुकको स्वतन्त्रता अफगानिस्तानमा सोभियत कब्जाले गर्दा खतरामा परेको बुझाई हो । यस सन्दर्भमा, इंदिरा गान्धीको बारेमा वीपी स्पष्ट हुनुहुन्थ्यो । कि, उनी सोभियत संघका पिछलग्गू थिईन ।

तिनताकमा नेपालका राजा बीरेन्द्र कम्युनिष्टको जालमा परेको र प्रजातन्त्रवादीलाई समाप्त पारेर कम्युनिष्ट नियन्त्रणको पञ्चायती व्यवस्थालाई दरो बनाउने सोभियत डिजायनले अन्ततः नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने वीपीको बुझाई रहेको थियो । यस तथ्यसँग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिकरणको दिशामा लिई जानु वीपीको नीति भनौं वा दृष्टिकोण थियो ।

आज, हवाई जहाजमा सवार काँग्रेसी, आकाशमा उडी रहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा वीपीको मेलमिलाप कै नीति पल्टाएमा पाईलटले तेसको मर्मत गर्न सक्ने, समाधान गर्न सक्ने गरी जसरी अर्थ लगाई रहेको देखिन्छ । यसको तेस्तो सर्वकालिक व्यापकता शायद वीपीले सोच्नु भएन होला ।

लेखक जेपी आनन्द

रोजगारी, जनताको आयवृद्धी, सर्वशुलभ स्तरीय शिक्षा, जनताप्रति लक्षित जनस्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत बिषयहरू, जुन जनताका आधारभूत खोजी र चाहना हुन, यसको समाधान पनि वीपीको तेस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो । न कि, वीपी प्रतिको आस्था । (जेपी आनन्दको फेसबुक पेजबाट यो सामग्री लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस्