Logo

कोरोनाको जोखिमले सुनसान देखियो बाँसबारी



झापा, १७ वैशाख । कोरोना भाइरसको दोश्रो लहरका कारण नेपाललगायत विभिन्न देश आक्रान्त बनेका छन् । स्वास्थ्य मानिशको जीवनको अर्थपूर्ण पाटो हो । विश्व अर्थतन्त्रमा पनि ठूलो झटका लागेको अवस्था छ ।

कोभिड १९ ले आक्रान्त बनेका मुलुक आत्मनिर्भर र प्रविधीमैत्री हँदाहुँदै पनि विकारल अवस्थालाई साम्य पार्न धौ-धौ परिरहेको छ । यस्तो विकाराल अवस्थामा नेपालमा पनि कोभिड १९ को दोश्रो लहर सुरु भएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

कोरोनाको उच्च जोखिमका कारण पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । झापाको मेचीनगर नगरपालिका वडा नंं.११ मा अव्यस्थित बाँसबारी सिमसार यतिबेला सुनसान जस्तो देखिएको छ । दैनिक रुपमा सयौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकले भरिभराउ हुने यस सिमसार कोरोनाको जोखिमका कारण घुम्ने आउने पर्यटकको संख्या दिन प्रतिदिन घट्दै गएको छ ।

भारतको सिक्किमलगायत नेपालका विभिन्न जिल्लाबाट पर्यटक आउने यस सिमसारमा शिवालय स्थापना, बालबालिकालाई मनोरन्जन प्रदान गर्न विभिन्न खेल सामग्री, पर्यटकलाई आकर्षित गर्न सिमसारको बीच भागमा हात्ति बनाएको छ भने वनमा दुम्सी, अस्ट्रिज, कछुवालगायतका वन्यजन्तुलाई संरक्षण गरिएको छ ।

बाँसबारी सामुदायिक वनको १४८ हेक्टर जमिन मध्ये ५ हेक्टर क्षेत्रमा फैलिएको सिमसारमा पर्यटकको संख्या घट्दै गएपछि कर्मचारीलाई तलब दिन पनि धौ-धौ पर्दै गएको बाँसबारी सिमसारका अध्यक्ष तक्दिर प्रसाईंले जानकारी दिए ।

वार्षिक रुपमा ८/९ लाख आम्दानी हुने सिमसारमा कोरोना संक्रमणको जोखिमले गर्दा सरकारले गरेको बन्दाबन्दीका कारण यस वर्ष ३ लाख मात्र आम्दानी भएको सिमसारका सचिव हिमादेवी भट्टराईले बताइन् ।

नयाँ वर्षका दिन ७ हजार बढीले अवलोकन गरेको सिमसारमा सरकारले २५ जना भन्दा बढी भिडभाड गर्न नपाइने नियम बनाएपछि पर्यटकको संख्यामा दिन प्रतिदिन गिरावट हुँदै आएको सचिव भट्टराई बताउछिन् । प्रवेश शुल्क ३० रुपैँया राखिएको यस सिमसारमा कोरोना जोखिमकै कारणले बुधबार ९७ जनाले मात्र सिमसार भ्रमण गरेका छन् ।

सिमसारलाई अझ बढी आकर्षक बनाउन मेचीनगर नगरपालिका र वनको ५०/५० को साझेदारीमा बुद्धको मूर्ति स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष प्रसाईंले बताए ।

कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारले देशभरका सम्पूर्ण शैक्षिक संस्था तथा परीक्षा स्थगित गरेको छ । कोरोनाका त्रासकै कारण काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाको तिव्र फैलावटका कारणले गर्दा नेपालमा फेरी पनि लकडाउन हुने हो कि भनेर सर्वसाधारणमा डर पैदा हुन थालेको छ । कोरोना जोखिमका कारण गत सालको लकडाउनले अस्तव्यस्त भएको पर्यटन क्षेत्र पुनः त्यस्तै अस्तव्यस्त हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्