Logo

बिर्तामोडको फोहोर बस्ती छेउमा बिसर्जन, दुर्गन्धले गाउँले हैरान



झापा, ३० असार । बिर्तामोड नगरपालिकाले दैनिक संकलन गरेको फोहोर वडा नम्बर ३ को डोमालाल रंगशालाको पश्चिम भागमा मानवबस्ती नजिक बिसर्जन गर्दा दर्गन्ध फैलिएको छ । नगरपालिकाले अव्यवस्थित रुपमा फोहर बिसर्जन गर्दा दुर्गन्ध फैलिएको हो । फालिएको फोहोर घाम लागेको समयमा बढी दुर्गन्धित हुने गरेको स्थानीयको भनाई छ ।

नगरपालिकाले कसेरबारी छेउमै फोहरमैला फालेपछि स्थानीयले वडा कार्यालय र नगरपालिकामा आपत्ति प्रकट नगरेका होइनन्, तर सुनवाई नभएको उनीहरुको गुनासो छ । फोहोर गनाएर बस्नै सकिँदैन, स्थानीय अजमेर खातुनले गुनासे गर्दै भनिन्, फाल्ने नै हो भने नगनाउने बनाउनु पर्छ नि, हाम्रो कुरा कसैले सुन्दैनन् ।

स्थानीय सिर्जना रेग्मीले पनि नगरपालिकाले फोहरमैलाको उचित व्यवस्थापन नगरेको बताइन् । नगरपालिकामा गुनासो गरेपनि सुनुवाई नभएको उनको भनाई छ । रेग्मीले राती आएर फोहर फाल्ने र त्यत्तिकै छाड्ने गरेकाले बढी गनाउने गरेको बताइन् । फोहोर फालेर बिषाधिको प्रयोग र राम्ररी माटोले छोपे कम गनाउँथ्यो होला, उनले भनिन्, नगरपालिकाले फोहर व्यवस्थित रुपमा फालेको छैन ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गणेश दाहालले नगर क्षेत्रमा व्यवस्थित डम्पिङ साइड नहुँदा समस्या भएको बताए । उनले दीर्घकालीन डम्पिङ साइडका लागि दुई स्थापनको पहिचान भएकाले एकदेखि दुई महिना भित्र नयाँ ठाउँमा फोहोर बिसर्जन गरिने बताए । प्रमुख प्रसाशकीय अधिकृत दाहालले अहिले फालिएको स्थापनमा दुर्गन्ध नआउने उपाय अपनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्