Logo

आज इदउलफित्र मनाइँदै, यस्तो छ अर्थ र महत्व



इद-उल फित्रमा सामूहिक प्रार्थना गर्दै, सुनसरी

विराटनगर, २९ चैत । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरु आजदेखि रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

एक महिनासम्म सञ्चालन हुने यो पर्वमा मुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

सुख, शान्ति र समृद्धिका लागि एत्तकाब
इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको २० औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिना तीन भागमा विभाजित हुन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजा पछि सुरु हुने तेस्रो आसरा हो । नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन रही आएको छ ।

विराटनगर महानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरले भने, “यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुुख शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो ।”

एत्तकाबमा बस्ने मानिसहरुले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् ।

विराटनगर बुधहाट जामे मस्जिदमा एत्तकाबमा बस्ने मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर पनि एत्तकाबमा बसेका छन् ।

इदउलफित्र
इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउलफित्र’ मनाइरहेका छन् । ‘इदउलफित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन् । रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिदअर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यसअन्तर्गत हैसियत हुने मुस्लिमहरुले ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । कुरानमा नै हैसियत हुनेहरुले मक्का जानुपर्दछ भन्ने उल्लेख गरिएअनुसार मुसलमानहरु यसरी मक्का जाने गर्दछन् ।

फितरा र जकात
रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो सात सय ५० ग्राम गहुँको मूल्य बराबर फित्तराको रुपमा निकाल्नुपर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला)मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’ को नमाज पढ्नुभन्दा पहिले नै निकाली सक्नुपर्छ । अनिमात्र उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ ।

जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नुपर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरुमा लागू हुन्छ ।

तराबी नमाज
रमजान महिनामा मुस्लिमले नियमितरुपमा दिनमा पाँच पटक पढ्ने नमाजसँगै तराबी नमाज ९विशेष नमाज० पढ्ने गर्दछन् । तराबी नमाज धार्मिक ग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लै दिनबाट तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरुले उपहार दिने चलन छ ।

अनुभव
इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने सुनाए । उनले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो र पर्वमा रोजा बस्दा कष्ट भए पनि जीवनमा आनन्द प्राप्त भएको र आफूले ११ वर्षको उमेरदेखि नै प्रत्येक वर्षको रोजा व्रत पूरा गर्दै आएको जनाए ।

मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी ९ वर्षीया फातिमा हबिवाले यो वर्ष एक र गएको वर्ष पनि एक रोजा बसेको सुनाइन् । रोजा बस्दा भोक त लागेन र तिर्खा धेरै लाग्ने गरेको अनुभव सुनाइन् ।

मेरो बुबा हाफिज र मौलान दुवै हुनुहुन्छ उहाँले सधैँ कुरान पाठ गर्नुहुन्छ । अर्बी भाषामा भएकाले यसको अर्थ मैले नबुझे पनि मस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाउनुहुन्छ उनले भनिन् ।

इदको दिन नयाँ लुगा र समुदायमा पाक्ने परिकारका बास्नाले झन रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारको अनुभव छ । उनले आजको दिनमा आम मानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्दै अल्लाहसँग प्रार्थना पनि गरे ।

नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढ्दै ।
नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढ्दै ।
घोराहीको इदगाहमा सामूहिक नमाज पढ्दै ।

प्रतिक्रिया दिनुहोस्