Logo
  चैत्र १६, २०८० शुक्रबार

एमाले नेता-कार्यकर्ताको पहिचानः वंशज, अङ्गीकृत र आप्रवासी



काठमाडौँ, १८ भदौ । माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेको आन्तरिक समिकरण र नेता-कार्यकर्ताको पहिचान पनि बदलिएको छ । विभाजन अघिसम्म एमालेमा मूलतः ओली समूह र नेपाल समूह अस्तित्व थिए । झलनाथ खनाल र बामदेव गौतम नेतृत्वको उपसमूह नेपालसँग निकट थिए ।

पार्टी विभाजनको अवस्थामा नेपाल पक्षमा खुलेका कयौँ नेता-कार्यकर्ता एमालेमै बसेका छन् । एकीकृत समाजवादी दर्ता हुने अन्तिम समयमा घनश्याम भुसाल लगायतको तेस्रो धारले नेपालको साथ छाड्दा नेता-कार्यकर्ताको एउटा पङ्ती एमालेमै रहेको छ ।

नेपाल पक्षमा लागेका नेता-कार्यकर्ता वा तेस्रो धारवाला लगभग ओली समूहमा समाहित भएका छन् । एमालेमा अब ओली समूह भनिरहनु नपर्ने अवस्था छ । हिजोको ओली समूह नै आजको एमाले भएको छ । एमालेमा ओली समूहको प्रतिस्प्रधी समूह अब छैन ।

एमाले भित्र अहिले तीन खाले पहिचान भएका नेता-कार्यकर्ता रहेको चर्चा हुने गरेको ओली निकटका एक नेताले बताए । एमालेमा वंशज, अङ्गीकृत र आप्रवासी गरी तीन खाले पहिचान भएका नेता-कार्यकर्ता भएको चर्चा चल्ने गरेको छ ।

१. वंशज एमालेः एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लामो समयदेखि लागेका नेता-कार्यकर्तालाई वंशज भन्ने गरिन्छ । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन भन्दा अघिदेखिनै ओली समूहमा सक्रिय नेता-कार्यकर्ता वंशज एमाले मान्न थालिएको छ । एमालेमा वंशज नेता-कार्यकर्ताको पहिलो दर्जा रहेको छ ।

२. अङ्गीकृत एमालेः नेकपा(नेकपा) मा हुँदा ओली र प्रचण्ड नेपाल समूहबीच भएको अन्तरसंघर्ष, सर्वोच्चले एमाले र माओवादी विभाजन गरेको अवस्थामा नेपाल समूह छाडेर ओलीको पक्षमा लाग्ने नेता-कार्यकर्ता अङ्गीकृत एमाले कहलिन थालेका छन् । यो वर्गका नेता-कार्यकर्ताको अवस्था दास्रो दर्जाको छ । माधव नेपाल समूहमा जाने सम्भावना नभएकाले यो समूहलाई अर्धविश्वास गर्ने गरिएको छ ।

३. आप्रवासी एमालेः एमालेको माधव नेपाल समूहमा सक्रियता पूर्वक लागेको तर पार्टी विभाजनमा नलागेको भुसाल लगायतको तेस्रोधार आप्रवासी एमाले भएको एमालेमा चर्चा हुने गरेको छ । तेस्रो धार र उनीहरुसँगै आउने आप्रभावी कहलिन थालेका छन् ।

एमालेमा चित्त नबुझेको अवस्थामा वा ओली विरुद्ध कुनै कदम चाल्न सक्ने भएकाले नेपाल समूहमा जाने सम्भावना अझै रहेकाले तेस्रो धार समूहलाई आप्रभावसी रुपमा चर्चा गर्ने गर्दछन् । यिनले कुन बेला पार्टी छाड्छन्, टुङ्गो छैन, एक नेताले भने, आफ्नै समूहमा फर्कन पनि सक्छन् ।

आप्रवासी समूहप्रति विश्वास नभएकै कारण सचिव योगश भट्राईको पार्टी प्रवक्ता पद खोसिएको छ । बिहिबार प्रदीप ज्ञवालीले नै प्रवक्ताको नामबाट विज्ञप्ति जारी गरेपछि तेस्रो धारमा ओलीको विश्वास नभएको देखिएको छ ।

एमाले भित्रको तीन पहिचानको चर्चा ओली समूहमा सीमित छ । ओली कै अघि तीन खाले पहिचानको चर्चा हुँदा ओलीले त्यसलाई मुस्कुराएर स्वीकार गरेको एक नेताले बताए । भर्खरै पार्टी विभाजन भएकाले ओली समूहले यसलाई धेरै प्रचारमा ल्याएको छैन । आन्तरिक पहिचानका लागि यो कोड भाषा प्रयोग हुने गरेको छ ।

अध्यक्ष केपी ओलीलाई सुरुमा ‘बा’ भन्नेको समूह सानो थियो । अनौपचारिक रुपमा सीमति नेता कार्यकर्ताले ‘बा’ भन्दा ओली मुस्कुराए । ‘बा’ भन्नेको संख्या वृद्धि हुँदै गयो । अन्ततः एमालेमा ‘बा’ संस्कृति नै स्थापित भयो । पार्टी भित्र मात्र होइन, बाहिरको पङ्तीले पनि ओलीलाई ‘बा’ भन्न थाल्यो । त्यसमा पनि ओलीको आपत्ति भएन । एमालेबाट नेपाल समूह अलग भएपछि यो तीन खाले पहिचान स्थापित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्