झापा, १७ वैशाख । झापाको मेचीनगर क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट आमा–छोरी गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ८:३५ बजे मेचीनगर–४ बाहुनडाँगी चोक नजिक बसोबास गर्दै आएका ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यबद्रा बज्राचार्यमाथि हात्तीले आक्रमण गरेको हो।
घरको बरण्डामा बसिरहेको बेला अचानक आएको जंगली हात्तीले उनीहरुलाई तानेर केही परसम्म घिसारेको जनाइएको छ। घटनामा दुवैको खुट्टामा गम्भीर चोट लागेको र हाल चल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।
घाइते आमा–छोरीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। स्थानीयवासीमा हात्तीको आतंकका कारण त्रास फैलिएको छ।





