Logo

पलको अपराध छोप्न ‘फेसबुके सिखण्डी’ !



नेपाली सिने अभिनेता पल शाह र एक नाबालिका गायिका बीचको सम्बन्धले सामाजिक सञ्जालमा सकारात्मकर नकारात्मक दुवै खालका टिप्पणी आइरहेका छन् । पलले नाबालिकमाथि गरेको ‘बलात्कार’बहसको विषय बनेको छ । पीडित नाबालिकाले न्याय पाउनु पर्ने पक्ष र पलमाथि षड्यन्त्र भएको भन्ने पक्षबीच बहस छेडिएको छ । सांगीतिक क्षेत्र मात्र होइन, समाजमा पनि पल र नाबालिकको यौन सम्बन्धको चर्चा चुलिएको छ ।

नाबालिकका अभिभावकले बलात्कारको अभियोगमा अभिनेता पलमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएपछि सामाजिक सञ्जालमा यो बहसको विषय बनेको हो । प्रहरीले पलको खोजी गरेपनि पक्राउ गर्न सकेको छैन । राजनीतिक वृत्तमा एमसीसीको बहस हुँदैनथ्यो भने मूलधारका सञ्चारमाध्यममा पलको यौन हिंसा बहसको मुख्य विषय हुने थियो । तर, राजनीतिमा एमसीसीको खिचडी पाकिरहेकाले पलको यौन हिंसा मुख्य विषय बन्न सकेको छैन ।महिला अधिकारकर्मी, मानवअधिकारवादी र सडकमा यौन हिंसाविरुद्ध संघर्ष गर्ने एनजिओहरुको आवाज कम भएको छ । यही कारण पल अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् भने उनको पक्षमा सामाजिक सञ्जालमा प्रचार गरिएकोछ ।

अहिले पलका अनुयायीहरु उनले गरेको समाजसेवाको बखान गरिरहेका छन्। त्यो बेलामा उनले सामाजिक काम गरेका हुन् पनि । तर, अब ती कुराले उनीमाथि लागेको गम्भीर आरोपको ढाकछोप हुन सक्दैन।जाहेरी परे लगत्तै पल फरार छन् ।उनीभाग्नुको मतलब अपराध स्वीकार्नु जत्तिकै हो ।

फेसबुक आजकल फेसबुक रहेन ! अदालत भयो ! वकिल यहीँ छन्, न्यायमूर्ति यस्मै छन्, आफै मुद्दा चलाउँछन्,आफै निर्णय गर्छन् । कुनै पनि कसुरमा अदालतमा वकिलहरुबीच बहस हुने हो, फेसबुकमा पलको गल्ती वा नाबालिका गायिकाको गल्ती भन्दै वकालत हुने भए अदालतको के अर्थ ? एक स्थापित कलाकारले गरेको टिप्पणी हो यो ।

कसले अधिकार दियो एउटी नाबालिकको अनेकन गोपनीयता सार्वजनिक गर्न ? एक नाबालिकालाई मिडियाको कठघरामा उभ्याएर आफ्नो दुनो सोझ्याउने नाउँमा आफूअनुकूल धारणा ओकल्न लगाउनु ऊमाथिको हिंसा हो कि होइन ? कानुनले त नाबालिकाको निर्णय क्षमतालाई आधिकारिक मान्दैन । देशको कानुनले नदिएको अधिकार तपाईंलाई कसले दियो ? त्यसैले आज लेख्दै गर्दा विचार गरौँ, कतै यही शब्दले दिएको मानसिक यातनाले कसैको जीवनमा क्षति भयो र अर्को शब्द खर्चिनु पर्यो भने ? कसैको पक्ष वा विपक्षमा बहस गरिरहँदा सोचौँ, मेरो भनाइले पीडितलाई झन पीडित त बनाइरहेको छैन ?

तपाईं हामीले सोधेका प्रश्नको भारीले थिचिएर, तपाईं हामीले दिएका प्रतिक्रियाको क्षणिक असरमा अल्झिएर, तपाईं हामीले लगाएका लाञ्छनालाई सहन नसकेर उनले जिन्दगीको गलत बाटो समातिन् भने त्यसको जिम्मेवारी कसले लिने ? उनलाई कन्टेन्ट बनाएर मार्केटमा फालिरहेका हामीमध्ये कतिले उनलाई सुझाव दियौँ तिमीले कानुनी लडाइँ लड्नु पर्छ भनेर । केही गलत भएको छ । कोही अन्यायमा परेको छ । हामी उनको पीडालाई मिडियामा, सामाजिक सञ्जालमा प्रचारबाजी गर्दै त्यहाँ आएका सेयर, कमेन्ट र उनले बोलेका कन्टेन्टले कमाएको पैसामा रमाइरहेका छौँ । केही मिडिया पललाई हैन, उल्टो पीडितलाई प्रश्न गरिरहेका छन्। शंका गरिरहेका छन् । रुवाउँदै अन्तरवार्ता लिइरहेका छन् । यसले ती नाबालिकामा मानसिक दबाब बढाइरहेको देखिन्छ ।

पल शाहका कथाकथित समर्थकले सामाजिक सञ्जालमा प्रोपोगण्डा मञ्चाएको वाक्यांश हो ‘सहमतिमा भए यौन सम्बन्ध, विमति हुँदा बलात्कार ?’तर यस्तो कमेन्ट गर्नेले नेपालको फौजदारी कानुनको सामान्य ज्ञानको हेक्का राख्नु पर्दछ । १८ वर्ष उमेर नपुगेकी महिलासँग राखिएको यौन सम्बन्ध बलात्कार हुन्छ । यदि पल शाहले सहमतिमा यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कारनै हो । प्रेम, विवाह वा कुनै पनि बहानामा नाबालिकसँगको यौन सम्बन्ध अपराध हो । सहमति बिना श्रीमतीसँग पनि यौन सम्बन्ध राख्न पाइँदैन । श्रीमतीसँग जबरजस्ती यौन सम्बन्ध राखे त्यो वैवाहिक बतात्कार हुने नेपालको कानुनी व्यवस्था छ ।

ललाइफकाई, प्रलोभनमा पारेर वा धाकधम्की दिएर कसैसँग पनि यौन सम्बन्ध वा हिंसा गर्न पाइँदैन । त्यसमा नाबालिकासँगको त्यस्तो सम्बन्ध स्वीकार्य हुँदैन । अपराधमा संलग्न जति नै ठूलो या लोकप्रिय व्यक्तिबाट भएको भए पनि उन्मुक्ति दिनु हुँदैन । पलको डर, धम्की, आश, इज्जत र सम्मानको पर्वाह नगरी आजअगाडि आएर बोल्न हिम्मतजुटाइन्,उनको यो साहसलाई धन्यवाद दिनु पर्दछ ।

पलले पीडितसँगयौन सम्बन्ध स्वीकार गर्नुको अर्थ अपराध स्वीकार गर्नु हो । यद्यपि, उनले नाबालिकासहितका केही व्यक्तिले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै अडियो सार्वजनिक गरेका छन् । अन्य व्यक्तिले गरेको कर्म वा अपराधले पीडितले न्याय पाउने कुराबाट बञ्चित हुनु हुँदैन । अनुमति बिना अडियो रेकर्ड गर्ने मात्र होइन, त्यसलाई सार्वजनिक गर्ने पल स्वयम् पनि दोषी छन् ।

पलले सामाजिक सञ्जालमा अडियो सार्वजनिक गरे। उनले त्यहाँ योजनाबद्ध रुपमा आफूलाई फसाएको बताउन खोजेका थिए। तर ती श्रव्य सामग्री ध्यान दिएर सुन्ने हो भने उनले आफैं आरोप पुष्टि गरेका छन्। आइडल पनि अपराधमा संलग्न हुन सक्छन् । उनका फ्यान, साथीभाइ, आफन्त, शुभचिन्तक सबैले यो स्वीकार्नैपर्छ । यतिबेला पल अभिनेता हैनन्, बलात्कारका फरार आरोपी हुन् । जो प्रहरीको खोजीको सूचीमा छन् ।

यहाँ को साथीले कसरी धोका दियो, कसले कसको काँधमा राखेर बन्दुक चलायो भन्ने कुराको केही अर्थ हुँदैन । उनले राखेको अडियोले अपराध भएको हो भन्ने देखाउँछ।साथीको धोका र गद्धारीमा फ्यानहरु इमोसनल हुन सक्लान्। तर, त्यसको कुनै अर्थ छैन । कानुनले अडियोलाई प्रमाणका रुपमा लिएपनि पलले उन्मुक्ति पाउँदैनन् ।

सामाजिक सञ्जालमा पीडितलाई ट्रोल बनाइएको छ । पलको भविष्य बिगार्न षड्यन्त्र भएको र उनलाई योजनाबद्ध रुपमा फसाउने काम भएको टिप्पणी हुने गरेका छन् । धन्न ती पीडित पल जत्तिकै नाम चलेकी गायिका हुन् । नत्र चर्चाका लागि भन्ने शब्द पनि थपिन सक्थ्यो ।

सामाजिक सञ्जालमा होहल्ला गरेर पीडित थप पीडा र पीडकलाईउन्मुक्ति दिने कर्म नगरौँ । पीडितले पनि न्यायका लागि लड्ने हिम्मत गरेर मैदानमा उत्रिएकी छिन्, हिम्मत नहार्नु,परिणाम जे सुकै आओस । हजारौँ दिदीबहिनीका लागि शिक्षा बनोस तिम्रो लडाइँ । जित्यौ भने सम्झिनु आत्माले जित्यो,हार्यो भने शरीरले । खेल त आखिर त्यसैको न हो ।

प्रतिक्रिया दिनुहोस्