Logo

नेपाली रङ्गमञ्चको बिडोँ थाम्ने पुस्ता



“नाटक गर्ने को–को हुनुहुन्छ ?” मैले सोधेँ । हलमा भएका सबै विद्यार्थीहरूले एकै स्वरमा “हामी सबै हौं” भनेको सुन्दा त शुरूमा विश्वास नै लागेन, अचम्ममा परेँ । फेरि त्यही प्रश्न दोहोर्‍याएँ, “नाटकमा महोत्सवमा सहभागी हुने को–को हुनुहुन्छ ?”, तर उत्तर उही आयो । त्यहाँ त्यस्तो जवाफ दिने विद्यार्थीको संख्या झण्डै २ सय ५० थियो ।

यो प्रसङ्ग थियो ‘समता नाटक महोत्सव–२०७८’ को । नाटकप्रति भाईबहिनीहरूको रुचि देखेर मलाई धेरै खुसी लाग्यो र सँगसँगै यति धेरै पात्रहरू सहभागी भएको नाटक कस्तो हुन्छ होला र यीमध्येबाट उत्कृष्ट तीन वटा नाटकको छनौट कसरी गर्न सकिएला भन्ने प्रश्न पनि मनभित्र उठे ।

यत्तिकैमा अजय सरले कार्यक्रम शुरू गर्नुभयो । अतिथिहरूको आसन ग्रहण र स्वागत मन्तव्यको औपचारिकता पूरा भएपछि सहभागीहरूले पालै–पालो आफ्नो नाटक प्रस्तुत गर्न थाले । विद्यार्थीहरू प्रस्तुत गरेका नाटकका कथाहरू पृथक–पृथक थिए– कथाको विषयवस्तु, नाटकको सेट, पोशाक, त्यहाँ बोलिएका लवज अनि पात्रका चरित्र सबै कुराहरू फरक–फरक थिए ।

मैले मन–मनै सोचेँ, “समता स्कुल” नाममात्रको समता होइन रहेछ । समताको वास्तविक अर्थ झल्किरहेका पाएँ ती नाटकका कथाहरूमा । विद्यार्थी आफैँले लेखेका, आफैंले निर्देशन गरेका, सेटमा प्रयोग हुने प्रप्स आफैँले तयार गरेका अनि अभिनय पनि आफैँ । उनीहरूको प्रस्तुति ज्यादै उत्कृष्ट थियो भनेर दावी नै गर्न नसकिए पनि उनीहरूभित्र प्रचुर सम्भावना भएको आभाष भयो । अझै समय–समयमा यस्ता अवसर पाउने हो र सिक्ने वातावरण हुने हो भने भोलि नेपाली रङ्गमञ्चको बिडोँ थाम्ने पुस्ताको अभाव कहिल्यै पर्ने थिएन भन्ने विश्वास पैदा भयो ।

विद्यार्थीहरू धेरै भएका कारण सबैको नाटक प्रस्तुत गर्दा समय निकै लाग्ने देखियो । कार्यक्रम सकिसक्दा त विद्यार्थी भाइबहिनी धेरै नै भोकाइसक्छन् भनेर एकछिन ‘ब्रेक’ लिने सल्लाह भयो । अजय सरले ‘२० मिनेट ब्रेक, त्यसपछि हामी फेरि भेला हुन्छौं है’ भनेर भन्नुभयो । सरको आवाज भुइँमा खस्न पाएको थिएन होला, विद्यार्थीहरू एकै स्वरमा “सर, हामीलाई भोक नै लागेको छैन, कार्यक्रम सकिएपछि खान्छौं” भनेर चिच्याए । हामी सानो छँदा त हामीलाई भोक नै प्यारो लाग्थ्यो, यहाँ पनि भोक नै प्यारो भएको हो, तर त्यो भोक खानाको होईन नाटकको थियो । नाटकप्रति विद्यार्थीहरूको त्यो रुची र उत्साहले हामीलाई पनि थप उर्जा मिलेको अनुभव भयो । तर उनीहरूले अति उत्साहका कारण भोक बिर्सिएका हुन्, पेटमा भोकै नभएको त कहाँ थियो र ! हामीले भाइ बहिनीलाई सम्झायौँ, उहाँहरूले हाम्रो कुरा मान्नु पनि भयो । अनि हामीले एकछिन ब्रेक गरेर खाजापछि मात्रै कार्यक्रमलाई निरन्तरता दियौँ ।

मैले अघिदेखि अजय सरको नाम त लिइरहेँ तर उहाँको परिचय दिन भने भुलेछु । उहाँको पूरा नाम अजय सुशील अधिकारी हो जो समता स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । उहाँले नै मलाई यसरी समता स्कूलले पहिलो पटक नाटक महोत्सवको आयोजना गर्न लागेको कुरा अवगत गराउँदै “म्याम आउनुहुन्छ नि, भाइ बहिनीलाई प्रोत्साहन मिल्ने थियो” भनेर आमन्त्रण गर्नुभएको थियो । मलाई यस महोत्सवसँग जोडिदिने अजय सरलाई हार्दिक धन्यवाद, समताको स्नेहले पुलकित भएको अनुभूति गरेकी छु ।

समता नाटक महोत्सव–२०७७
हुन त ज्यादै गर्मी पनि भइसकेको थिएन, तर मान्छेको चाप बढी भएर होला, गर्मी बढेको महसुस हुँदै थियो । विद्यार्थीरूको त्यही भीडमा एकजना छात्रा स्वेच्छाले पटक–पटक पानी ओसारेर सबैलाई पिलाउँदै हुनुहुन्थ्यो । ‘उनलाई पनि अरू साथीहरूसँगै बसेर नाटक हेर्न मन लागिरहेको हुँदो हो’ भन्ने मलाई लागेको थियो । त्यही कुरा अजय सरले पनि याद गरिरहनु भएको रहेछ । कार्यक्रमको अन्त्यमा अजय सरले ती छात्रालाई मञ्चमा बोलाएर उनको सेवाभावको कदर गर्दै रुद्राक्षको माला लगाईदिनु भयो ।

समता स्कुलमा पाठ्यक्रममा भएका कुरा मात्र नभएर अन्य थुप्रै मानवीय गुण समेत सिकाइँदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ । मानवताको भावना प्रस्तुत गर्न धेरै ठूलो घटना हुनुपर्दो रहेनछ । हुन त यो जगत नै सुक्ष्म–सुक्ष्म कुराहरू मिलेर बनेको छ भन्छन् । हामीले सबै नाटक हेर्‍यौँ र तीन उत्कृष्ट नाटकको छनौट पनि गर्‍यौँ । नाटक महोत्सव समापन भएपछि केही समय सहभागीहरूसँग छलफल गरेर म घर फर्किएँ । मेरो तन घरतिर जाँदै थियो तर यो मनभने अझै पनि ती नाटकका पात्रहरूसँगै कतै सल्बलाउँदै थिए ।

महिनाको एक सय रूपैयाँमा नर्सरी कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्न पाइने “समता स्कूल” को बारेमा धेरै सुनेको त थिएँ तर आफैँ प्रत्यक्ष रूपमा त्यहाँको वातावरणमा भिज्ने मौका भने अझैसम्म पाएको थिइँन । त्यो नाटक महोत्सव मेरा निम्ति समतासँग राम्रोसँग परिचित हुने बहाना बनेर आयो। समता स्कुलमा अध्ययन गरेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका र नाम कमाएका धेरै मानिसहरूको अन्तर्वार्ता पढेको, हेरेको र सुनेकै हो । आँट गर्ने हो भने केवल एक सय रूपैयाँ मासिक शुल्कमा पनि गुणस्तरीय र समतामूलक शिक्षा सबैलाई दिनसकिने रहेछ भन्ने कुराको उदाहरण हो समता स्कुल ।

मलाई अहिले १२ वर्ष अगाडिको एउटा घटनाको सम्झना भइरहेको छ। ‘१२ वर्षमा बगेको खोला त फर्किन्छ’ भन्थे, साँच्चै कहिलेकाहीँ त्यस्तै हुँदोरहेछ । हामी त्यतिबेला लालबन्दी मै थियौं । म त्यहाँ एउटा विद्यालयमा पढाउँथे । एक दिन मेरो घर नजिकैको एकजना भाइ मलाई घरबाट झट्ट आईहाल्नु भन्ने खबर लिएर स्कूलमै आइपुग्यो । म पनि ‘के भएर होलारु यसरी स्कुलमै बोलाउन पठाछन्, केही अशुभ त भएनरु’ भनेर आत्तिएर दौडादौड गर्दै घर पुगेँ । घरमा बाबा पनि बिरामी भइरहनु हुन्थ्यो । घर पुग्दा त सबैजना हँसिलो मुद्रामा गफ चुटिरहेका पो देख्छु ! म त एकछिन जिल्ल परेँ ।

‘किन यसरी बोलाउनु भएको’ भनेर आमालाई सोध्दा “उहाँ सरहरूलाई भेट्न” भन्नुभयो । म थच्चक्कै गुन्द्रीमा बसेछु, दौडी–दौडी घर पुगेकी थिएँ नी त । मलाई पाहुना छन् भन्ने यादै भएन । पछि आमाले “लौ यो त थपक्क बसी ! यहाँ हामी सबै एउटा कुराको छलफल गर्न भनेर उठिरहेको छौँ” भन्नुभयो। “म काममा गएको मान्छेलाई के गफ गर्न भनेर आत्तिने गरी बोलाउन पठाको त ?” भन्न मन थियो, तर मान्छेको अगाडि केही बोलिनँ ।

“बसि त हालेँ, बसेर सल्लाह नै नहुने होईन होला त, बस्नु त सबैजना” यति चाहिँ भने । मैले नचिनेका दुईजना सरहरू हुनुहुन्थ्यो । बुझ्दै जाँदा उहाँहरू लालबन्दीमा पनि समता स्कुल स्थापना गर्नका लागि भनेर आउनु भएको रहेछ र त्यसका लागि आवश्यक जग्गाको खोजी गर्दै हुनुहुँदो रहेछ । त्यही क्रममा कसैले उहाँहरूलाई हामी जमिन्दारको परिवारबाट भएको, हामीलाई त्यसबारेमा धेरै थाहा भएको र हामीसँग भेट्दा काम बन्छ भनेर हाम्रो घर पठाईदिएका रहेछन् ।

हामीले स्कुलका लागि आवश्यक जमीन मिलाउन उहाँहरूलाई सहयोग गर्‍यौँ र स्कुलको शिलान्यास हुने बेलामा त्यसको व्यापक प्रचार–प्रसार समेत गरिदियौँ ।

लालबन्दीमा समता स्कुलको शिलान्यास गर्न काठमाडौंबाट विजयकुमार पाण्डे, हरिवंश अचार्य, उपेन्द्र महतो लगायत धेरै ख्यातिप्राप्त व्यक्तिहरू आउनुभएको थियो। ती हस्तीहरूलाई देख्नमात्र पाउँदा पनि हामी दङ्ग थियौँ ।

त्यही वर्ष मेरो बाबाको निधन भयो, त्यसपछी हामी लालबन्दी बसेनौँ । हाम्रो परिवार बसाइँ सरेर काठमाडौं आयो । त्यसपछि समता स्कुलसँग कुनै किसिमको सम्वन्ध हुन पाएन । त्यस घटनाको झण्डै १२ वर्षपछि एक दिन अचानक समता स्कुलका फाउन्डर उत्तम सन्जेल सरको फोन आयो । “म्याडम हामीसँग सहकार्य गर्नुपर्‍यो, म फिल्म बनाउँदैछु । हाम्रो टिममा तपाईं आउनुपर्‍यो । फोनमा बोलिरहेका उत्तम सन्जेल सरलाई थाहा थिएन कि म त्यही सरस्वती हुँ, अनि मलाई पनि कुनै जानकारी थिएन कि उहाँ त्यही समता स्कुलको उत्तम सर हुनुहुन्छ । मानिसको एउटा मात्र पहिचान कहाँ हुँदोरहेछ र ! श्रोतः आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्