Logo

झापामा एमाले र राप्रपा तालमेलः कति छ सम्भावना ?



झापा, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एमाले र माओवादीको समर्थनमा लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । एमाले अध्यक्ष ओलीकै कारण क्षेत्र नम्बर ३ लिङदेनलाई छाडेका थिए भने क्षेत्र नम्बर ५ मा राप्रपाले ओलीलाई समर्थन गरेको थियो ।

बैशाख ३० गते हुने स्तानीय तह निर्वाचनमा झापामा एमाले र राप्रपाबीच तालमेल हुने बजारमा चर्चा छ । तर, राप्रपाको अध्यक्ष भएपछि ओलीसँग लिङदेनको सम्बन्ध चिसियो । ओली र लिङदेनबीच चिसिएको सम्बन्धले झापामा दुई पार्टीबीच आन्तरिक रुपमा के हुँदैछ ? के करणले ओली र लिङदेनबीच सम्बन्ध चिसिएको हो ? त्यसका केही कारण खुट्याउने प्रयास गरिएको छ ।

एमाले-राप्रपा सम्बन्ध बिग्रनुका कारणः
कारण नं. १ः राष्ट्रिय सभाको १९ पदका लागि माघ १२ गते भएको निर्वाचनमा राप्रपाले असहयोग गरेका कारण प्रदेश १ मा एमालेले दुई जना सदस्य गुमाउनु परेको थियो । राप्रपाले झापाका अम्बर बिष्टलाई उम्मेदवार बनाएको थियो । हार निश्चित हुँदा हुँदै बिष्टलाई उम्मेदवार बनाए पछि एमालेका गुरु बराल बराबरी मत हुँदा चिठ्ठाबाट नेपाली काँग्रेसका गोपालकुमार बस्नेतसँग पराजित भए ।

यसैगरी एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमककी शुमित्रा भण्डारी पनि थोरै मतले पराजित भइन् । एमालेका सोनाम गेल्जेन शेर्पा भने निर्वाचित भए । राप्रपाको सहयोग भएको भए तीन वटै सीटमा एमाले विजयी हुन्थ्यो । राप्रपाको असहयोगले निर्वाचनमा हारिएकोमा एमाले अध्यक्ष ओली र अन्य नेताले लिङदेनलाई भाउ दिन छाडेका छन् । राष्ट्रिय सभा निर्वाचन पछि एमाले र राप्रपाबीचको सम्बन्ध बिग्रिएको हो ।

कारण नं. २ः एमाले राप्रपाको जिल्ला स्तरमा सहकार्य नहुने कारण भनेको राप्रपा दमक नगरमा मेयर दाबी गर्नु पनि हो । २०७४ सालको स्थानीय निर्वाचनमा दमकमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा भएको थियो । राप्रपाका राम थापाले दोस्रो मत ल्याएका थिए भने माओवादीले तेस्रो मत ल्याएको थियो । दमकमा दुई वडा अध्यक्ष र पाँच जना सदस्य राप्रपाबाट निर्वाचित भएका छन् । दमक एमाले अध्यक्ष ओलीको गृहनगर हो । एमाले कुनै पनि किम्मतमा दमक छाड्ने पक्षमा छैन । दमक राप्रपालाई नछाडेसम्म एमालेसँग तालमेल हुने सम्भावना पनि छैन ।

यसैगरी झापाको कचनकबल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य, दल्दिबारी गाउँपालिकामा अध्यक्ष, एक वडा अध्यक्ष, छ जना वडा सदस्यमा राप्रपा निर्वाचित भएको थियो । गौरिगञ्ज गाउँपािलकामा अध्यक्ष मात्र जितेको राप्रपाले बिर्तामोड नगरपालिकामा एक वडा अध्यक्ष र दुई जना सदस्य जितेको थियो । राप्रपा झापामा तेस्रो ठूला दल हो ।

कारण नं. ३ः राप्रपाको अध्यक्षमा निर्वाचित भएका लिङदेनले नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै नेतालाई गाउँमा जनताले चोर भन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । लिङदेनको त्यस समारोहमा मुख्य दलका सबै नेताले आलोचना गरे । एमाले अध्यक्ष ओलीले लिङदेनलाई संकेत गर्दै ‘बाच्छो जन्मने बित्तिकै बुरुक बुरुक गर्छ’ भने । ओलीको यो कटाक्षले लिङदेन र ओलीबीचको सम्बन्ध चिसिएको थियो ।

ओलीको त्यही टिप्पणीका कारण राष्ट्रिय सभा निर्वाचनमा लिङदेनले बिष्टलाई उम्मेदवार बनाउँला एमालेका उम्मेदवार पराजित भएका थिए । राष्ट्रिय सभाको निर्वाचन परिणाम पछि एमाले अध्यक्ष ओली र अन्य नेताहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग बिच्किएका हुन् । एमालेका एक नेताले ‘लिङदेनले गुण बिर्सिएको’ टिप्पणी गरे ।

माओवादीसँग २०७४ सालमा बाम गठबन्धन भएको बेला एमालेले झापा क्षेत्र नम्बर ३ मा तत्कालीन नेकपा एमालेका तर्फबाट सहयोग गरेका कारण राजेज्द्र लिङदेन प्रतिनिधि सभामा निर्वाचित भएका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपाले तालमेलको प्रस्ताव गरे पनि एमालेले ठोस जवाफ दिएको छैन । एमालेका एक नेताको टिप्पणी थियो, ‘राप्रपाको बिऊ जोगाउन हामीले सहयोग गर्यो तर राप्रपाले एमालेलाई हराएर राष्ट्रिय सभामा गठबन्धनलाई जितायो ।

के भन्छन् जिल्लाका नेता ?
एमाले र राप्रपाबीच तालमेल हुने कुरा बजारीया चर्चा भएपनि यथार्थमा त्यस्तो ठोस सम्वाद नभएको दुबै पार्टी जिल्ला अध्यक्षले बताए । एमाले झापाका अध्यक्ष दीपक कार्कीले राप्रपासँग जिल्ला स्तरमा कुनै सम्वाद भएको छैन । पालिका स्तरमा कुनै पनि दलसँग तालमेल हुन सक्छ तर जिल्ला स्तरमा अहिले नै तालमेल हुने गरी सम्वाद भएको छैन । उनले भने, ‘सबै ठाउँमा तालमेलको सम्भावना कम छ ।’

राप्रपा झापाका अध्यक्ष केशव ओझाले पनि स्थानीय पालिका स्तरमा कुराकानी भए पनि जिल्ला तहमा कुराकानी नभएको बताए । उनले अघिल्लो निर्वाचनमा हामीले तीनवटा पालिका जितेकोमा यस पटक दमक र बाह्रदशी थपिने बताए । उनले भने, ‘तालमेलकामा लागि ठूला दलले अग्रसरता देखाउनु पर्ने हो । त्यसमा उहाँहरको खासै सक्रियता देखिएको छैन ।’

झापामा एमाले नेतृत्व कचनकबल बाहेक सबै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा छ । कचनकबलमा जरुरी परे राप्रपाका बिरुद्ध काँग्रेसलाई अध्यक्ष दिएर भएपनि एमाले अघि बढ्न तयार भएको एमालेका एक नेताले बताए । राप्रपा पनि आफ्नो पुरानो वर्चश्व कायम राख्ने रणनीतिमा छ भने नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको केन्द्रले गर्ने तालमेलको निर्णय प्रतिक्षामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्