Logo
  चैत्र १५, २०८० बिहीबार

झापा क्षेत्र नम्बर ३ बाट दुर्गा प्रसाई एमालेको उम्मेदवार बन्दै



झापा, ११ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य सहेका बि एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईले झापाको क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचनमा उम्मेदवार हुने तयारी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेका प्रसाई एमाले प्रवेश पछि एमाले केन्द्रीय सदस्य बने । अहिले संघीय संसदको चनावी अभियानमा छन् । दुर्गा प्रसाई मार्फत एमाले झापा क्षेत्र नम्बर ३ का कचनबकल, बाह्रदशी, हल्दिबारी गाउँपालिका स्थानीय निर्वाचनमा जित्ने तयारमिा लागेको छ ।

त्यही रणनीति अन्तर्गत प्रसाई बि एण्ड सी अस्पताल मार्फत चुनावी प्रचारको हतियार प्रयोग गरेका छन् । प्रसाई बि एण्ड सी अस्पतालले सम्बन्धन नपाए पछि ओलीको साथ खोजेका हुन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापा, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलका कारण आफुले सम्बन्धन नपाएको आरोप लगाउँदै आएका प्रसाईले भनेका छन्, बि एण्ड सी अस्पताललाई सम्बन्धन नदिनेहरुसँग अब संसद बहस गर्छु ।

प्रसाईको निर्वाचन तयारी
प्रसाईले संघीय निर्वाचनमा उठ्ने तयारीका लागि क्षेत्र नम्बर ३ को ग्रामिण तथा आदिवासी क्षेत्रमा अस्पताल मार्फत स्वास्थ्य बीमा कार्यक्रम, पानी पिउन तथा खेतीका लागि ट्युवेल बितरण, मदरसा निर्माणका लागि आर्थिक सहयोय, क्यान्सल रोगीलाई दुई लाखसम्मको निशुल्क उपचार जस्ता कार्यक्रम लिएर गएका छन् ।

अस्पताल र नेकपा एमालेको स्थानीय कमिटीको अयोजनामा प्रसाईले अस्पतालालका कार्यक्रमलाई तिब्रता दिएका छन् । उनले नेपालकै हाचो स्थान कचनकबलको वडा नम्बर ४ मा दुई सय वटा ट्युवेल बितरण गरेका छन् । यसैगरी बाह्रदशी गाउँपालिकाको वडा नम्बर १,२,३,४,५,६ र ७ मा एक हजार पाँच सय भन्दा बढीको निशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् ।

प्रसाईले बीमा शुल्क बापत लाग्ने तीन हजार पाँच सय अस्पताल मार्फत भुक्तानी गरेका छन् । उनले स्वास्थ्य बीमाका अतिरिक्त दुई लाखसम्मको निशुल्क क्यान्स उपचार गर्ने घोषणा गरेका छन् । प्रसाईले स्वास्थ्य बीमा गर्ने कर्मचारी र उपचार गर्ने स्वास्थ्यकर्मीको टोली अभियानमा सँगै लिएर जाने गरेका छन् । अन्य दल स्थानीय निर्वाचनको गतिविधिमा छन् भने प्रसाई संघीय संसदको निर्वाचन जित्ने अभियानमा छन् ।

बि एण्ड सी अस्पतालले स्वास्थ्य, शिक्षालगायतका सामाजिक उत्तरदायित्व अन्तर्गत १० करोड रुपैया खर्च गर्ने कार्यक्रम रहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । अस्पतालले खर्च गर्ने भनेको रमक अहिले झापा क्षेत्र नम्बर ३ मा निर्वाचन केन्द्रीत भएर गरिएको छ । गिरीका अनुसार कचनकबल, हल्दिबारी, बाह्रदशीलगायतका क्षेत्रमा ३ हजार परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम रहेको बताए ।

प्रसाई उम्मेदवार बन्ने कारण
२०७४ सालको निर्वाचनमा झापाको क्षेत्र नम्बर ३ मा एमाले र माओवादीको समर्थनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका थिए । तर, लिङदेन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि एमाले अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएको छ । नोपली काँग्रेसको महाधिवेशन उद्घाटनमा लिङदेनले नेतालाई गाउँमा चोर भन्छन् भने । जवाफमा ओलीले ‘बाच्छो जन्मने बित्तिकै उरुक्क बुरुक्क गर्छ’ भनेर व्यङ्ग गरे । त्यस पछि ओली र लिङदेनको सम्बन्धमा दरार आएको हो ।

गएको माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा राप्रपाले असहयोगका कारण प्रदेश १ मा एमालेले दुई जना सदस्य गुमायो । राप्रपाले झापाका अम्बर बिष्टलाई उम्मेदवार बनाएका कारण एमालेका गुरु बराल चिठ्ठाबाट नेपाली काँग्रेसका गोपालकुमार बस्नेतसँग पराजित भए ।

यसैगरी ओलीको गृहनगर दमककी शुमित्रा भण्डारी पनि थोरै मतले पराजित भइन् । एमालेका सोनाम गेल्जेन शेर्पा भने निर्वाचित भए । राप्रपाको सहयोग भएको भए तीन वटै सीटमा एमाले विजयी हुन्थ्यो । राप्रपको असहयोगले निर्वाचनमा हारिएकोमा एमाले अध्यक्ष ओली र अन्य नेताले लिङदेनलाई भाउ दिन छाडेका छन् । राष्ट्रिय सभा निर्वाचन पछि एमाले र राप्रपाबीचको सम्बन्ध थप बिग्रिएको हो । त्यस पछि ओलीले प्रसाईलाई उम्मेदवारको तयारी गर्न भनेको एमाले झापाका एक नेताले बताए ।

एमालेको केन्द्रीय सदस्य भए पछि प्रसाईका क्षेत्र नम्बर ३ मा गतिविधि तिब्र भएको छ । यो निर्वाचन क्षेत्र एमालेको सुरक्षित क्षेत्र होइन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि यो निर्वाचन क्षेत्रबाट कहिले जित्ने कहिले हार्ने गर्दै आएका छन् । गएको निर्वाचनमा सिटौला लिङदेनसँग पराजित भएका थिए । यस पटक भने सिटौला, प्रसाई र लिङदेनबीच प्रतिस्पर्धा भए त्यो रोचक हुन सक्छ ।

पाँच दलीय गठबन्धन भएको अवस्थामा माओवादीले सिटौलालाई समर्थन गर्ला अन्यथा राष्ट्रिय राजनीतिमा परिवर्तन आएर गठबन्धन भत्किएमा भने अवस्था बदलिन सक्छ । सिटौला, प्रसाई र लिङदेनबीच प्रतिस्पर्धा भए माओवादीको मत निर्णायक हुन सक्ने देखिएको छ ।

एमालेका अन्य नेता निर्वाचित हुन नसक्ने भए पछि प्रसाईलाई उम्मेदवारीको तयारीका लागि एमालेलाई सहज भएको हो । एमालेका एक नेता भने, ‘प्रसाई जी फिल्डमा भिडिसक्नु भयो, उहाँले आफ्नै ढंगले अभियान सुरु गर्नु भएको छ, निर्वाचन एमालेको पक्षमा बनाउने तयारी हो ।’

प्रतिक्रिया दिनुहोस्