Logo

विश्व कप क्रिकेट लिग-२: नेपाल अमेरिकासँग पराजित



अमेरिका, २ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा आज बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३-३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एक-एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेले । सिंहले ५८ तथा मोदानीले ५४ रनको योगदान गरे । यस्तै, आरोन जोन्स्ले ४३, सैतेज मुक्कामलाले ३६, निसर्ग पटेलले १८ र क्यामरोन स्टेभेन्सनले १६ रन जोडे ।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्