Logo

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: लामिछाने



काठमाडौँ, २ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग-२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् ।

अमेरिकासँगको खेलमा पराजित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताएका हुन् ।

ब्याटिङमा साना गल्तीहरू भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने कप्तान लामिछानेको भनाइ छ । आफूलाई साथ दिन अन्य स्पिनर बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको उनले बताए । खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडी अनुभवहीन भएकाले सिक्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले भने, ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ । हामीले सबै खेल जित्नुपर्ने हो । तर अन्तिममा गएर नियन्त्रण गुमाइरहेका छौँ । मैले पनि सोचेजस्तो राम्रो गर्न सकेको छैन । आउँदा खेल हाम्रा लागि चुनौतीपूर्ण हुन्छ । आउँदा खेलमा म आफ्नो तर्फबाट जतिसक्दो सुधार गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्