Logo

चारआली जेसीजद्वारा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न



मेचीनगर, ९ असोज । चारआली जेसीजले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज मेचीनगर नगरपालिका वडा नं.१४ मा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न भएको हो ।

चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मेचीनगर नगरपालिका वडा नं.१४ का वडा सदस्य फुलकुमारी राजवंशी रहेकी थिइन् ।

उक्त कार्यक्रमको सहजीकरण ट्राफिक बिट चारआलीका इञ्चार्ज जनक तिम्सिनाले गरेका थिए । उनले प्रहरीलाई आफ्नै साथी सम्झी विद्यार्थीहरुमा वा अन्य जो कोहीलाई समस्या परेको खण्डमा प्रहरी अथवा प्रहरीको टोल फ्रि नम्वर १०० मा सम्पर्क गर्नुका साथै लागुऔषध दुरुपयोग तथा विद्यमान समस्याहरुका बारेमा बताएका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य फुलकुमारी राजवंशी, बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जेसीजको साताव्यापी कार्यक्रम अन्तरगत असोज १० गते चारआलीमा बृहत रक्तदान कार्यक्रम तथा असोज १० गते नै चारआली जेसीज स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, असोज १२ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र असोज १५ गते नै जेसीआई तालिम आयोजनासहित सप्ताह समापन हुने चारआली जेसिजका तालिम निर्देशक भूपेन्द्र प्याकुरेले जानकारी दिए ।

चारआली जेसीजका सचिव शिक्षा घिमिरेले आस्था वाचन गरेकी थिइन् भने कार्यक्रम मूल संयोजक सन्देश न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्