Logo

सन्दीप भन्छन्: म निर्दोष छु



काठमाडौँ, १० असोज । बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले उनीविरुद्ध गम्भीर षड्यन्त्र भएको र नेपाल आएर त्यसको विरुद्धमा लड्ने बताएका छन् ।

उनले हाल उनी बिरामी परेकोले स्वदेश फर्किन नसकेको जनाएका छन् । उनले भनेका छन्, ​’१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो । त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन । सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाई र अग्रजहरू लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्थासम्म पुग्न सकेको हुँ । म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रेरणाले अघि बढेको छु । मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महशुस गर्दछु ।

म विरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाममा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍योभने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु । झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

क्रिकेटप्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तरराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महशुस भएको छ ।

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाइँ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धी हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु ।

म र नेपाली क्रिकेटप्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजुभाइ, मित्रहरु र क्रिकेटप्रेमीहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्ध अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरिदिनहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्