Logo

ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका माओवादी नेता तामाङले किन पाएनन् टिकट ?



काठमाडौँ, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका र गठबन्धनका तर्फबाट सर्वसम्मत जस्तै भएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रञ्जित तामाङले अन्ततः टिकट पाएनन् ।

झापामा माओवादीले क्षेत्र नम्बर २ र ५ लिने भन्ने लगभग टुङ्गो लागेको थियो । तामाङले पनि झापा क्षेत्र नम्बर ५ बाट ओलीसँग प्रतिस्पर्धा गर्ने केही समय अघि नै घोषणा गरेका थिए । तामाङको उम्मेदवारी घोषणाले राजनीतिक चर्चा पाएको थियो । युवा राजनीतिमा आउनु पर्ने कुरा उठिरहेको बेला तामाङको उम्मेदवारले ओलीमा भय उत्पन्न गरेको थियो । मुलत ः दूई कारणले तामाङले टिकट पाएनन् ।

ओली-विश्वप्रकाशको सेटिङ ः
एमाले अध्यक्ष ओली र विश्वप्रकाशबीच भएको समझदारी अनुसार क्षेत्र नम्बर १ मा एमालेले रविन कोइराला बाहेक उम्मेदवार बनाउने र क्षेत्र ५ मा काँग्रेसले कमजोर उम्मेदवार उठाउने । एमालेबाट रविन कोइराला उम्मेदवार हुँदा शर्मा पराजित हुने भएकाले कोइरालाले टिकट पाएनन् । कोइराला दशबुँधेमा लागेका कारण टिकट नपाएका होइनन् । ओली र शर्माको सेटिङका कारण टिकट नपाएका हुन् । काँग्रेस महामन्त्री शर्मालाई जित्न सहज बनाउने उद्देश्यले ओलीले कोइरालालाई टिकट नदिएका हुन् ।

ओलीले आफु सुरक्षित हुन राप्रपासँगसमेत तालमेल गरेका छन् । झापा क्षेत्र नम्बर ३ राप्रपालाई छाडेका छन् । त्यहाँ अध्यक्ष राजेन्द्र लिङ्देन काँग्रेस नेता कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुने भएको छ । राप्रपाको दमकमा पनि राम्रो प्रभाव भएको क्षेत्र हो । गठबन्धनको समर्थनमा दमकमा मेयर राप्रपाले जितेको छ । राप्रपाको समर्थन र काँग्रेसको कमजोर उम्मेदवार बनाउँदा ओलीका लागि सहज हुने भएकाले माओवादी नेता तामाङले अन्तिममा आएर टिकट नपाएका हुन् ।

माओवादीको आन्तरिक किचलो ः
माओवादी झापा मात्र होइन, प्रदेश १ को मौजुदा नेतृत्व नै तामाङ पार्टीको केन्द्रीय सदस्य भएदेखि नै त्रसित थियो । त्यसमा ओलीसँग प्रतिस्पर्धा गर्ने कुराले झन भयभित थियो । तामाङले निर्वाचन जिते वा हारे झापामा मात्र होइन, देशभर चर्चा चुलिने थियो । युवा नेता भएकाले युवाको आकर्षण हुन्थ्यो । जनतामा तामाङ स्थापित हुने थिए । अर्कातर्फ तामाङले टिकट पाउँदा दमकका गगन पुरीले प्रदेशमा टिकट नपाउने भए । आफ्नो स्वार्थ अनूकुलका पुरीका लागि भएपनि माओवादी प्रदेशका नेताले तामाङलाई सिफारिस गरेनन् ।

जिल्ला र प्रदेशका नेताले तामाङले जित्तैनन् भन्ने लविङ प्रचण्डसम्म गरे । जसले तामाङ टिकट पाउने कुराबाट वन्चित भए । प्रचण्डले संकेत गरेकाले तामाङ टिकट पाउने कुरामा ढुक्क थिए । तर, पार्टीभित्रैबाट हुने खुराफातको पत्तै पाएनन् । सेटिंग र पार्टी भित्रको खुराफात पत्तो नपाउँदा तामाङले टिकट पाएनन् ।

प्रतिक्रिया दिनुहोस्