Logo

सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ, २ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधवार पुन: चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गएको असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । त्यो समय सकिएपछि असोज २७ गते पुन: थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियो ।

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक १ गतेका लागि अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज अदालतमा उपस्थित गराइएको हो । अदालतले आज पुन: चार दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गएको सोमवार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले चार दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्