Logo

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौँ, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमवार काठमाडौँको आलोक नगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिकरूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको छ । ‘लगातार बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, युवाको विदेश पलायन, कृषिबाट सक्रिय जनशक्तिको पलायन, वार्षिक बजेटमा ऋणको निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोत-साधनहरूमा दलाल पुँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतिहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् । कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवम् व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधिलगायतका सेवा क्षेत्रको विकास एवम् विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ’, घोषणापत्रमा भनिएको छ ।

राष्ट्रिय उत्पादनमा वृद्धि गरी निर्यातमा बढोत्तरी र आयातमा कटौती गरेर व्यापार घाटा कम गर्दै लानुपर्ने एकीकृत समाजवादी घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्