Logo

जसपाद्वारा कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक



काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक गरेको छ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जसपाले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरू छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख छ ।

जसपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकतालाई पनि उल्लेख गरिएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जसपाको दाबी छ ।

विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गर्ने विषय पनि जसपाले समेटेको छ ।

जसपाले दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने प्रतिबद्धता जनाएको छ । एक गाउँ, एक उत्पादनको नीति लागू गरी कृषि उत्पादन बढाउनुको साथै पालिकाभर कृषिबाली बिमा अभियान सञ्चालन गरी प्रकोपजन्य अवस्थाबाट हुने बाली नोक्सानीको सोध भर्नाको प्रबन्ध गरिने जसपाको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै देशभित्रै रोजगारी सृजना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने र बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्