Logo

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला



काठमाडौँ, २ मंसिर । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो ।

यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक-एक विकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृङ्खला दुई-एकले आफ्नो पक्षमा पारेको हो ।

योसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक शृङ्खला जितेको हो ।

प्रतिक्रिया दिनुहोस्