Logo

पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा



युक्रेन, ९ मंसिर । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ ।

राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए ।

अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो ।

तीस लाख नागरिकको बसोबास रहेको राजधानी शहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ‘ड्रेनपाइप’बाट जल सङ्कलन गरेका थिए । पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो । यद्यपि धारामा पानी प्रवाह भइसकेको थिएन ।

पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरबासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ, कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेका थिए । कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी । नगरमा अघिल्लो दिन गरिएको भीषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए । यद्यपि किएभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो ।

उनान्चालीस वर्षीय ब्याङ्कर ओलेक्सी रश्चुपकिन तेस्रो तलाको आफ्नो ‘फ्ल्याट’ मा पानी आएको थाहापाएपछि ब्युझिए तर उनको ‘रेफ्रिजेरेटर’ बाट बगेको पानीले कोठा पोखरीमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्