Logo

भरतपुर महानगरपालिकाद्वारा अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक



चितवन, १३ मंसिर । भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ ।

सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल, स्वीकृति नलिइ भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लगायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा गाडी उक्लिन बाटो बन्द हुने गरी बनाइएका स्थायी र्‍याम्पहरू, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी सञ्चालनमा रहेका पसल, गोदाम, रेस्टुरेन्टमा प्रयोग भइरहेको बेसमेन्टहरू हटाउन महानगरले आग्रह गरेको छ ।

महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृति सहरको रूपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइन् । यस्ता संरचनाले भरतपुरलाई कुरुप बनाउने भएकाले महानगरपालिकाले यो कार्यको सुरुवात गर्न लागेको उनको भनाइ छ ।

महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरि निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरू नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन-२०७४’ बमोजिम महानगर आफैँले हटाइ लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल गर्ने जनाएको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरू प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था ‘स्थानीय सरकार संचालन ऐन-२०७४’ ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्