Logo

मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन



सोलुखुम्बु, २८ मंसिर । सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ ।

उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएको आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।

कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।

९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताए । २०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ ।

दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्