Logo

प्रधानमन्त्री भन्छन्: विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ



काभ्रेपलाञ्चोक, २९ मंसिर । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताए ।

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो,” उनले भने, “विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभएर विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्