Logo
  चैत्र १६, २०८० शुक्रबार

अवैद्ध मोवाइल पुस १५ गतेपछि नचल्ने



काठमाडौँ, १३ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

“मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ-ब्लकिङ गर्न प्राधिकरणले परीक्षणको रुपमा लागू गरेको मोबाइल एमडीएमएस पुस १५ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने व्यहोरा जानकारी गराइन्छ ।” प्राधिकरणले सूचनामा भनेको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ । त्यस्तै, गत भदौ भन्दाअगाडि प्रयोगमा नरहेका मोबाइल सेटको पनि भन्सार घोषणा गरी भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिएर अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने तथा यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने पनि प्राधिकरणले जनाएको छ । विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटका लागि अनिवार्य रुपमा प्रज्ञापनपत्र लिनुपर्नेछ । प्रज्ञापनपत्र लिइसकेपछि राहदानी, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै आधिकारिक विवरणका आधारमा मात्र दर्ता गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

त्यस्तै, नेपालभित्रै मोबाइल खरिद गर्दासमेत उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर खरिद गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्