Logo

‘हाइब्रिड वार’ वार न पार

दृश्यमा रुस–युक्रेनबीच लडाइँ भइरहेको देखिए पनि दुवैलाई साथ दिने मुलुक र संगठनहरू अप्रत्यक्ष रूपमा भिडेका छन्



काठमाडौँ — चिनियाँ रणनीतिकार तथा दार्शनिक सुन जुले पुस्तक ‘द आर्ट अफ वार’ मा लेखेका छन्, ‘युद्धको सर्वोच्च कला भनेको बिनालडाइँ शत्रुलाई वशमा राख्नु हो । सबैभन्दा ठूलो जित त्यो हो जसलाई कुनै लडाइँको आवश्यकता पर्दैन ।’

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता झन्डै एक वर्षसम्म दुवै मुलुक संकटमा छन् । यो बीचमा अधिकांश अन्तर्राष्ट्रिय समुदायको विरोधका बाबजुद रुसले युक्रेनका दोनेत्सक, लुहान्स्क, खेरसन र जापोरिसजियालाई आफ्नो अधीनमा ल्यायो । सैन्य लडाइँ, बल आक्रमण र मेलिटरी ट्यांकको आवतआवत सुरुआत रुस–युक्रेन युद्ध अहिले आएर ‘हाइब्रिड वार’ मा परिणत भएको छ ।

सुरुआतमा केही महिना मात्र लडाइ चल्छ होला र त्यसपछि एक समयमा गएर रोकिन्छ भन्ने अनुमान विश्व समुदायको थियो । दुई मुलुकबीचको द्वन्द्व चलेको झन्डै एक वर्ष पुगिसकेको छ । अहिले युक्रेन र रुसका सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीचको लडाइँभन्दा पनि ‘हाइब्रिड वार’ हुन थालेको छ । यसले युद्ध सकिनेभन्दा पनि झन्–झन् अनिश्चित बनेको छ । चिनियाँ रणनीतिकारले सुन जुले भने जस्तै युद्धभूमिमै लडाइँ नगरी युद्ध जित्न लागिपरेका छन् । किनकि हाइब्रिड वारमा सीमा क्षेत्रमा गएर सैनिकहरूले लड्दैनन् । लडाइँ चलेको ११ महिनापछि अमेरिका र जर्मनीले युक्रेनको सहयोगका लागि युद्धमा प्रयोग हुने ट्यांक बढाउने निर्णय गरे । पश्चिमा राष्ट्रहरूले युक्रेनलाई आवश्यक आर्थिक र हतियारको अन्य सहयोग भने गर्दै आइरहेका छन् ।

नेपालका दुई छिमेकी चीन र भारत रुस–युक्रेन युद्धलाई लिएर तटस्थ छन् भने युरोपेली संघ (ईयू) र अमेरिकी खेमा युक्रेनको पक्षमा छन् । एक समय मस्कोबाट युक्रेनको राजधानी किभसम्म नै आइपुगेको रुसी सेना अहिले राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका नयाँ क्षेत्रहरूमा मात्र छन् । पुटिनको चेतावनीका बाबजुद पनि युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेनेस्कीले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) र युरोपेली मुलुकहरूको क्षेत्रीय संगठन ईयूको सदस्य बन्ने निर्णय गरे । लगत्तै मस्कोबाट युक्रेनमाथि आक्रमण हुन थाल्यो । नाटो ३० मुलुक बीचको एक अन्तरसरकारी सैन्य गठबन्धन हो । यो दोस्रो विश्वयुद्धपछि अमेरिकाको नेतृत्वमा सन् १९४९ मा स्थापना भएको थियो । त्यसबेला तत्कालीन सोभियत युनियनलाई सामना गर्न उक्त संगठन स्थापना भएको थियो ।

रुस–युक्रेन सुरुवातमा जसरी द्वन्द्व अघि बढ्यो, त्यति नै चाँडो सकिन्छ भन्ने थियो । तर, पछिल्लो समय विकसित घटनाक्रमले कति समय चल्छ भन्ने अनुमान गर्न सकिन्न । अत्याधुनिक हतियारको प्रयोग भइरहँदा सेना आमनेसामने नभई टाढा बसेर विभिन्न स्थानमा विस्फोटनको रणनीति अख्तियार गरिरहेका छन् ।

‘हाइब्रिड युद्धको कारणले गर्दा अब मैदानमा सैनिक खटिनु पर्दैन । यसमा प्रविधिहरूको प्रयोग हुन्छ । धन–जनको क्षति नभएपछि युद्ध लम्बिरहन्छ,’ भूराजनीतिक मामिला जानकार चन्द्रदेव भट्टले भने, ‘यसमा अप्रत्यक्ष रूपमा युद्ध हुन्छ ।’ अमेरिकाले प्रविधिकै प्रयोग गरेर इराकको राजधानी बग्दादमा इरानी अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्रका प्रमुख कासेम सुलेमानीलाई मारेको थियो । जुन घटना हाइब्रिड वारको एउटा पाटो पनि हो । कुनै पनि व्यक्तिगत उपस्थितिबिना नै ड्रोनको प्रयोगबाट सुलेमानीलाई मारियो । हाइब्रिड वारको एउटा मुख्य तत्त्व भनेको न्युक्लियर प्रविधि पनि हो । न्युक्लियर प्रविधि देखाएरै विपक्षीमाथि त्रास बढाउन सकिन्छ । उदाहरणका लागि युक्रेनलाई समर्थन गर्ने पश्चिमा मुलुकहरू अब रुसले न्युक्लियर बम त हान्ने होइन भन्नेमा सशंकित छन् ।

अर्कोतर्फ रुसले भने पश्चिमा मुलुकहरूले युक्रेनलाई आवश्यक प्रविधिहरू सहयोग गरेकामा आपत्ति जनाइरहेको छ । चिनियाँ रणनीतिकार सुन जुले भनेजस्तै हुन्छ, हाइब्रिड वारमा । दुश्मनसँग प्रत्यक्ष होइन, अप्रत्यक्ष रूपमा लड्नुपर्छ । अमेरिका र अन्य पश्चिमा मुलुकहरूले प्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरेर अप्रत्यक्ष रूपमा रुस–युक्रेन युद्धमा भाग लिएका छन् ।

हाइब्रिड वारलाई लिएर अमेरिकी सैन्य रणनीतिकार जोन ए. वार्डन तृतीयले ‘फाइभ रिङ’ थेअरी (सिद्धान्त) का अनुसार प्रणाली विशेषताहरूको ५ स्तरका आधारमा रिङहरूले सैन्य रणनीतिक आक्रमणको सिद्धान्तलाई प्रतिनिधित्व गर्छ । यसमा वृत्तको केन्द्रमा नेताहरू, त्यसपछि प्रक्रिया, विकासको पूर्वाधार, जनसंख्या र अन्त्यमा बाहिरी घेरामा खटाइएका सुरक्षा बल हुन्छन् । अहिले हाइब्रिड वारमा नेतृत्वमा पुग्नभन्दा अघि सम्बन्धित मुलुकको पूर्वाधारमा आक्रमण गरेर विपक्षीलाई कमजोर पार्न सकिन्छ । उदाहरणका लागि रुसले युक्रेनमा बल र रकेट आक्रमण गरेर त्यहाँको पूर्वाधार ध्वस्त बताएको छ । हाइब्रिड वारको अर्को महत्त्वपूर्ण पक्ष भनेको कुनै पनि मुलुकको जनसंख्यामाथि अप्रत्यक्ष रूपमा गरिने हस्तक्षेप हो । उदाहरणका लागि रुसले सन् २०१७ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदा अमेरिकी जनतामा विभिन्न मिडियाहरूको प्रयोग गरेर गलत सूचना फैलाएको आरोप छ । जसले गर्दा डेमोक्र्याटकी हिलारी क्लिन्टनलाई पछि पार्दै रुससँग राम्रो सम्बन्ध भएका डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न सफल भए ।

चिनियाँ रणनीतिकार सुन जुले माथि उल्लेख गरेको जस्तै गरी रुसले अप्रत्यक्ष रूपमा अमेरिकामा निर्वाचन जितायो । कुनै पनि जनधनको क्षतिबिना रुसले त्यस बेला अमेरिकामाथि हस्तक्षेप गरेरै छाड्यो । यो सिद्धान्तअनुसार सम्बन्धित देशका जनतालाई गलत सूचना दिएर सोही मुलुकको नेतृत्व गर्ने नेताहरू र सैनिकविरुद्ध खडा गरिन्छ । नेतृत्व र सैनिकविरुद्ध जनता सडकमा उत्रिएपछि देशमा गृहयुद्ध हुन्छ, जुन हामीले सिरियामा देखेका थियौं । अर्कोतर्फ जनताको दबाबमा आएर नेतृत्व गर्ने नेताहरूले सरकार नै छाडिदिन्छन् । उदाहरणका लागि अरब स्प्रिङ तथा एल्लो, अरेन्ज र ग्रिन रिभोलुसन पनि हाइब्रिड वारकै उत्पादन हुन् । साथै, रुस, चीन र भियतनाममा भने कलर रिभोलुसन भएको थियो ।

एकातर्फ युक्रेनलाई अमेरिका, बेलायत र ईयूका मुलुकहरूले समर्थन गरेर रुससँगको हाइब्रिड वारमा सहयोग गरिरहेका छन् भने अर्कोतर्फ चीनले पनि रुसलाई आवश्यक ट्यांकहरूसहित अन्य सहयोग गरिरहेको छ । रुसलाई सिरिया, इरानजस्ता मुलुकहरूको साथ छ । सीमा क्षेत्रमा रुस र युक्रेन लडे पनि अप्रत्यक्ष रूपमा अहिले विश्वका दुई खेमा लडिरहेका छन् । हाइब्रिड वारभित्र एक प्रकारले प्रोक्सी वार पनि भइरहेको देखिन्छ । प्रोक्सी वार भनेको एक पक्षलाई अप्रत्यक्ष रूपमा पछाडिबाट सहयोग गर्ने भन्ने हो । भूराजनीतिक मामिला जानकार भट्ट हाइब्रिड वारलाई प्राविधिक वार भन्न पनि सकिने मान्छन् । ‘अहिले जसको हातमा प्रविधिको कन्ट्रोल छ, यसैले युद्ध जित्ने हो,’ उनले भने, ‘प्रविधिले भूराजनीतिको परिप्रेक्ष्यलाई नै परिवर्तन गरिदिएको छ ।’

रुसले आफ्नो मुलुकमा आक्रमण गरेसँगै सुरुआतमा कुनै कुनामा बसेर युद्ध गरिरहेका युक्रेनका राष्ट्रपति जेलेनेस्की अहिले खुला रूपमा बाहिर घुमिरहेका छन् । युद्धको पहिलो ६ महिना युक्रेनलाई समर्थन गर्ने पश्चिमा खेमाका नेताहरूले राजधानी किभ नै पुगेर युक्रेनी जनताको दुःख र कष्ट हेरेका थिए । युद्ध लम्बिएसँगै राष्ट्रपति जेलेनेस्की अमेरिका, बेलायत र हालसालै ईयूको मुख्यालय ब्रसेल्समा पुगेका छन् । एउटा युद्ध लडिरहेको मुलुकका राष्ट्रपति जेलेनेस्कीलाई पश्चिमा मुलुकहरूले नायकका रूपमा सम्बोधन गरेका छन् । साथै, उनीहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अर्कोतर्फ युक्रेनबाट कब्जा गरिएका भूभागहरू कुनै पनि हालतमा नछाड्ने र आवश्यक परे न्युक्लियर हतियारसमेत प्रहार गर्न सक्ने चेतावनीका साथ मस्कोमा पुटिन छन् । सुरुआतमा युद्धका कारण युक्रेन र रुस दुवैतर्फ जनधनको ठूलो क्षति भएको छ । बाहिर आएको सूचनाअनुसार रुसतर्फ कम क्षति छ । तर, युद्ध लम्बिएसँगै दुवैले प्रविधिको प्रयोगलाई प्राथमिकता दिइरहेका छन् । रुसले सन् २०१४ मा युक्रेनको भूमि क्राइमिया आफ्नोमा गाभेको थियो । जुन अब फिर्ता गर्ने देखिन्न । युक्रेन र रुस युद्धका कारण अहिले संसारभर इन्धन र खाद्य संकट भएको छ । जसले खाद्य संकटका साथै अन्य सामग्रीहरूको पनि मूल्यवृद्धि भएको छ । कोभिड–१९ को मारले आर्थिक संकटबाट उड्न नसकेको विश्वमा रुस–युक्रेन युद्धले ‘आगोमा घिउ थप्ने काम’ गरेको छ ।

अर्का भूराजनीतिक मामिला जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात युरोपमा राजनीतिक स्थिरताको निश्चितता नभएसम्म यो युद्ध चलिरहने मान्छन् । उनी यो युद्ध नरोकिनुको दुई कारण रहेको विश्लेषण गर्छन् । ‘रुसले आफ्नो सीमामा पश्चिमा आए भनेर लडेको हो । रुसलाई जबसम्म यस्तो संकट हुन्छ, उसले युद्ध लडिरहन्छ,’ उनले भने, ‘दोस्रो, अहिले पहिलेको जस्तो लडाइँ नहुँदो रहेछ । कमजोर राष्ट्रहरूलाई शक्तिशाली मुलुकले समर्थन र सहयोग गर्दा पनि युद्ध जित्न नसकिने रहेछ ।’ बस्न्यातका अनुसार जबसम्म अर्को शक्तिराष्ट्रहरूको आफ्नो राजनीतिक लक्ष्य पूर्ति हुँदैन तबसम्म युद्ध गरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्