Logo

इलाम र बझाङमा आज उपनिर्वाचन

बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान



झापा, १५ वैशाख । इलाम र बझाङमा आज (शनिबार) उपनिर्वाचन हुँदैछ। इलाम (२) मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

यी दुवै स्थानमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ।

आयोगका अनुसार इलाम(२)मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएका छन्। इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र निर्धारण गरिएको छ। बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

इलाम २ मा दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।

बझाङ १ ९क० मा कांग्रेसका अभिषेकबहादुर सिंंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्